बाँके । लोपोन्मुख वन्यजन्तु पाटेबाघको संख्या बृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय वन्यजन्तु तस्करहरूको निशानामा पर्न थालेको छ । स्थापना भएको १० वर्ष मै २१ वटा वयस्क बाघको बासस्थान बनेको बाँके निकुञ्जमा पाटेबाघको चहलपहल बढेसँगै तस्करहरू सक्रिय भएका छन् ।
गत असार २० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकैको क्षेत्रबाट वयस्क बाघको छाला र १० किलो हड्डीसहित बाँके राप्तीसोनारी गाउँपालिका(२ का नवराज घर्तीलाई पक्राउ गरेको थियो । वन्यजन्तु तस्करको पिछा गर्दै आएको नेपाल प्रहरीको टोलीले निकै लामो प्रयासपछि तस्करसम्म पुगेर बाघको छाला, हड्डीसहित अभियुक्त घर्तीलाई पक्राउ गरेको हो ।
बाघको छाला हड्डी र एकजना अभियुक्त पक्राउ परे पनि तर मुख्य अभियुक्त प्रकाश बाहुन र नरे घर्तीलाई भने नियन्त्रणमा लिन सकेन । फरार अभियुक्तको खोजीलाई तीव्र पारेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । निकुञ्ज नजिकैको राष्ट्रिय वन क्षेत्रबाट बाघको छाला र हड्डी बरामद भएको बाघ बाँके निकुञ्ज क्षेत्रको हो या अन्य क्षेत्रको हो भन्ने अझै यकिन भएको छैन ।
सन् २०१८ मा बाघको गणना गर्दा क्यामरा ट्यापिङ प्रविधिबाट खिचिएका बाघको फोटोहरु र बरामद भएको बाघको छालाको फोटो रुजु गरेर त्यो बाघ कहाँको हो भन्ने यकिन गर्ने तयारी भइरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेले जिल्ला अदालत बाँकेबाट थुनुवामा रहेका घर्तीलाई म्याद थप गरेर उक्त घटनाको अनुसन्धान गरिरहेको अनुसन्धान अधिकृत प्रभात दाहालले बताए ।
गत फागुन २७ मा दाङको तुलसीपुरस्थित बसपार्क क्षेत्रबाट नेपाल प्रहरीको अनुसन्धान ब्युरोले बरामद गरेको बाघको छाला बाँके निकुञ्जको बाघको भन्ने पुष्टि भइसकेको छ । उक्त घटनाले बाँके निकुञ्जमा संरक्षित लोपोन्मुख पाटे बाघ वन्यजन्तु तस्करहरूको निशानामा परेको बाँके राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराइले बताए । तुलसीपुरस्थित बसपार्क क्षेत्रबाट बाघको छालासहित पक्राउ परेका अभियुक्तविरुद्ध डिभिजन वन कार्यालय दाङले अनुसन्धान गरी जिल्ला अदालत दाङमा मुद्दा दायर गरिसकेको छ ।
अदालतको आदेशबाट पक्राउ परेका अभियुक्तहरु सल्यान वनगाड कुभिण्डेका ३७ वर्षीय यमबहादुर राना, सल्यानको त्रिवेणीका ३० वर्षीय सुरजित रामजा बुढा मगर र शारदा नगरपालिका २६ वर्षीय रमित सुनार पुर्पक्षका लागि जिल्ला कारागार दाङको थुनामा छन् । मुख्य अभियुक्त दाङका जीतेन्द्र घर्ती मगर फरार छन् । पछिल्लो समयमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा संरक्षित लोपोन्मुख पाटेबाघ मारेर छाला र हड्डी दाङ, रुकुम, डोल्पा हुँदै चीनको तिब्बत पुर्याउने तस्कर समूह सक्रिय भएको नेपाल प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
सन् २०२२ सम्म बाघको संख्या दोब्बर बृद्धि गर्ने लक्ष्यका साथ २०६७ सालमा बैशाख ३० मा नेपाल सरकारले बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । सन् २०१३ मा पहिलो पटक गणना गर्दा चारवटा बाघ भेटिएको निकुञ्जमा सन् २०१६ मा गरिएको गणनामा नौवटा र सन् २०१८ गणना गर्दा २१ वटा बाघ भेटिएका थिए । निकुञ्ज ५५० वर्गकिलोमिटर वन क्षेत्र र ३४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा फैलिएको छ । बाँके निकुञ्जसँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा ६७ वटा पाटे बाघ छन् ।
वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०१८ मा गरिएको बाघको गणनाअनुसार नेपालमा २३५ वटा वयस्क बाघ छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् ।
पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोग गरेर विभागले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघ गणना गरेको थियो । विभागले बाघको संख्या बृद्धि गर्नका लागि बाघका आहारजन्य जनावरको संख्या बढाउन घाँसे मैदान निर्माण, पानी पोखरीको संख्या बढाउँदै लगेको छ । पछिल्ला वर्षहरुमा बर्सेनि व्यवस्था र चोरी शिकारी नियन्त्रणमा विशेष जोड दिइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले बताए ।
बाघ तस्करीको जालो
सिआइबीले सन् २०१५ देखि हालसम्म ३० वटा अपरेशन गरेर २८ वटा पाटेबाघको छाला, २०० किलो हड्डी बरामद गरेको छ । प्रहरीले पाटेबाघको तस्करीमा संलग्न भएको अभियोगमा ७१ जना पक्राउ छन् । जसमध्ये ६ जना भारतीय र २ जना चिनियाँ नागरिक छन् । आइबीका अनुसार काठमाडौंमा १९ जना, बाँकेमा ९, कैलालीमा ९, कञ्चनपुरमा ५, मकवानपुर ५, सुर्खेतमा ३, बर्दियामा २, सुनसरीमा २, रसुवामा २ र नवलपरासीमा १ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ५७ जना कारागारमा छन् भने १४ जना धरौटीमा छुटेका छन् । बाघ तस्करीमा संलग्न रहेको अभियोग लागेका तर हाल फरार ३८ जना छन् ।
बाघ तस्करी सम्बन्धी चर्चित घटनाहरु
- २०६९ सालमा नुवाकोट जिल्लामा पाँचवटा बाघको छाला र सात बोरा बाघको हड्डी बरामद । उक्त घटनामा संलग्न मुख्य नाइके लोडु डिमेलाई सिआइबीले २०७४ फागुन २८ मा पक्राउ गरेको थियो ।
- २०६२ सालमा रसुवा जिल्लामा बरामद पाँच थान बाघको छाला ३६ थान चितुवाको छाला २३८ थान ओतको छाला र ११३ किलो बाघको हड्डी बरामद बरामद भयो । उक्त घनाका मुख्य नाइके कुन्जोक लामा २०७७ असार ११ मा काठमाडौंमा पक्राउ परेका थिए । लाङटाङ राष्ट्रिय निकुञ्जले उनीमाथि कानुनी कारबाही सुरु गरेको छ । उनी हाल थुनामा छन् ।
सत्यपाटी ।