सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा

स्थिति सहज भएपछि नरैनापुर फर्कियो नेपाली सेना

बाँके । कोबिड–१९ को महामारीको बेलामा भयावह स्थितिको बेलामा बाँकेको नरैनापुरमा परिचालित गरिएको नेपाली सेनाको टोली नरैनापुरबाट फिर्ता भएको छ ।

नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाका अनुसार ११ गते आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैैठकले नरैनापुरबाट सेनालाई फिर्ता गर्ने निर्णय गरेपछि नरैनापुरमा परिचालित टोली फिर्ता हुने भएको हो ।

गणपति थापाले मंगलबार साँझसम्म सबै टोली फिर्ता आइसक्ने जानकारी दिए । नरैनापुरका क्वारेन्टाइन व्यवस्थापन, सिल गरिएको क्षेत्रको अनुगमन, लकडाउन कार्यान्वयन गर्न, शान्ति सुरक्षालाई सहज बनाउने जिम्मेवारीसहित परिचालित सेना स्थिति सहज भएपछि फिर्ता भएको हो ।

‘नरैनापुरमा शान्ति सुरक्षामा सुधार आएपछि त्यहाँ रहेको टोलीलाई विपदमा खटाउनुपर्ने भएकाले फिर्ता बोलाइएको हो,’ उनले भने, ‘फेरी आवश्यकता महशुस भएमा जान सकिनेछ ।’ नरैनापुरको क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा ल्याउँदा स्थानीयले विरोध गरेपछि जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको थियो ।

जेठ ११ गतेदेखि नरैनापुरमा सहसेनानी सुरेशकुमार श्रेष्ठको कमाण्डमा ४५ जनाको एक प्लाटुन नेपाली सेना टोली जयकिसान मावि परिसरमा अस्थायी क्याम्प बनाएर बसेको थियो । फिर्ता हुनुअघि २० जना सेनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

केही समयअघि देशकै सबैभन्दा बढी कोरोना संक्रमित रहेको नरैनापुर कोरोना मुक्त भइसकेको छ । नरैनापुरमा ११९ जना संक्रमित रहेकोमा सबै निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ का २५ वर्षका एक युवकको भने क्वारेन्टाइनमै बसेको बेला मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ०६:४९