सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा खेलवाड

समुदायमा कोरोनाको यात्रा, बजारभरी जात्रैजात्रा !

बाँके । लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिममा छ । बाँकेमा लक्षण देखिएका संक्रमित फेला पर्न थालेपछि जोखिम बढेको छ । तर जिल्लामा नयाँ संक्रमित फेला परे पनि यहाँका सर्वसाधारणमा कोरोनाको त्रास भने घटेको छ । बजारमा सबैतिर भीडभाड बढेको छ ।

त्राससँगै स्वास्थ्य सामग्रीको प्रयोग, हात धुने र सेनिटाइजर लगाउने बानी पनि हट्दै गएको छ । अनिवार्य गरिए पनि किनमेलका लागि बजार गएकाहरुले समेत मास्क लगाउने गरेका छैनन् । हिँड्डुल र किनमेलका लागि हिँडेकाहरूको अनुहारमा मास्क देखिँदैन । नेपाल–भारत सीमासँग जोडिएको बाँकेमा समुदायस्तरमा कोरोना फैलिन थालेपछि जोखिम निकै बढेको छ ।

पसलमा गएकाहरुले सामाजिक दूरी पालना नगरी भीडभाडमै किनमेल गरिरहेको नेपालगन्ज उपमहानगरपालिका–१३ का केशव डाँगीले बताए । ‘पहिले ग्राहकले टाढाबाट सामान किनमेल गर्थे, व्यापारीले पनि ग्राहक बस्ने सीमा तोकिदिएका हुन्थे, अहिले न ग्राहकले नियम पालना गर्छन्, न त व्यापारीले नै सामाजिक दूरीको ख्याल गरेको पाइन्छ,’ उनले भने ।

अहिले बजारमा किनमेल गर्नेहरुको जात्रा लाग्ने गरेको छ । कोरोना महामारीबाट पहिले झैं डर नलाग्ने गरेको नेपालगन्ज–१२ का मोहम्मद हुसैनले बताए । ‘पहिले बेलाबेलामा हात धुने, सेनिटाइजर लगाउने, अरूसँग टाढा बस्ने, भीडमा नजाने र मास्क नलगाएर बाहिर निस्कन्थ्यौँ । पछिल्लो समय डर हटेसँगै सजगता पनि कम अपनाउन थालेको महशुस हुन्छ,’ उनले भने ।

लकडाउन खुकुलो भएपछि नेपालगन्जका बैंक, वित्तीय संस्था, सरकारी कार्यालय र संस्थानमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगन्जका चाप हुने सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना देखिएको छ । विभिन्न कामका लागि कार्यालयमा पुगेकाहरूले पनि सामाजिक दूरी ख्याल नगरेको नेपालगन्ज उपमहानगरपालिका–१० का राधेश्याम धोबीले बताए ।

‘लाइनमा बसेका सर्वसाधारणलाई कोरोनाको चिन्ताभन्दा कसरी छिटो महसुल बुझाउने भन्ने चिन्ता भएको देखिन्छ,’ उनले भने, पहिले सबैजना सजग थिए, सामाजिक दूरीको ख्याल गर्थे, अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कँदैनथे र पो सुरक्षित थियौँ ।’ बन्दाबन्दीपछि समुदायमै पोजेटिभ केस बढिरहेकोले बाँके जिल्ला अहिलेसम्मकै उच्च जोखिममा छ ।

नेपालगन्जमा कोरोना समुदायस्तरमा फैलिइसकेको छ । धेरै चाप हुने सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि समुदायस्तरमै कोरोना भाइरस फैलिएको पुष्टि हुन्छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले भारत लगायत अन्य देश र जिल्लाबाट बाँके भित्रिने जोकोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्छ ।

पछिल्लो समय बाँकेका क्वारेन्टिनमा मानिस राख्न छोडिएको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन बाँकेका स्थानीय तहहरुले बेवास्ता गरिरहेका छन् । भारतबाट वा जिल्ला बाहिरबाट आउने नगारिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाले बाँकेमा समुदायस्तरमै कोरोना फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमणको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । सरकारको तयारीले मात्र नहुने भन्दै उनले आमनागरिक आफैं सुरक्षित हुन आवश्यक रहेको जनाएका छन् ।

देशभर यसरी संक्रमितको संख्या ह्वात्त बढिरहँदा उपचार र परिक्षणको अवस्था भने कमजोर रहेको छ । अन्य जिल्लाको तुलनामा नेपालगन्ज झनै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । खासगरी नेपालगन्जको त्रिभूवन चौकस्थित एक जना मिठाई पसलेमा नै कोरोना संक्रमण पुष्टि भए पनि स्थानीयहरु सर्तक भएको पाइँदैन ।

बन्दाबन्दी खुलेपछि बाँके कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ । यतिबेला बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जोखिम बढेको छ । लकडाउन हटिसकेको र वैदेशिक रोजगारीका क्रममा भारत लगायत अन्य मुलुकबाट घर फर्किने नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राख्न छोडेपछि जोखिम बढेको हो ।

अहिले नेपालगन्जका सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि बाँके जिल्ला कोरोना संक्रमणको जोखिम उच्च छ । बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था पनि भयानक दुखदायी हुनसक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरिरहेका छन् ।

समुदायस्तरमा कोरोना फैलिन थालेपछि बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोना संक्रमण समुदायमा फैलिएकाले यसबाट बच्न र बचाउन भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । सरकारले उचित तहमा परिक्षण गरेको दाबी गरे पनि नेपालको स्वास्थ्योपचारको अवस्था र क्षमता त्यो तहमा नरहेको अनुमान गरिन्छ ।

सरकारले लकडाउन फिर्ता लिएसँगै बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका बजारहरुमा नागरिकको भीडभाड बढेको छ । सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ ।

यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ । सरकारले लकडाउन खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् ।

थपिँदै संक्रमित, बढ्दै भीडभाड

बन्दाबन्दी खुकुलो पारिएसँगै नेपालगन्जमा भीडभाड बढेको छ । बजार र सार्वजनिक यातायातका साधनमा सर्वसाधारणको थामिनसक्नु भीड देखिन्छ । यसले महामारीका बेला सहज बनाउनुको साटो जनजीवनलाई थप जोखिममा पारेको छ । सर्वसाधारणको भीड बढिरहँदा सदरलाइन र त्रिभुवन चोकका व्यापारीमा कोरोना संक्रमण देखिएको छ ।

किनमेलका क्रममा दैनिक सैयौं मानिससँग सम्पर्कमा रहेका व्यापारी नै संक्रमित भएपछि यहाँ त्रास बढेको छ । त्रिभुवन चोकमा एक मिठाई पसल संचालन गर्दै आएकाती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका व्यापारी तथा सर्वसाधारणमा कोरोनाको त्रास बढेको हो । पछिल्लो पटक नेपालगन्ज–११ सदरलाइनका दुई जनामा कोरोना पुष्टि भएको छ ।

शनिवार सार्वजनिक पीसीआर रिपोर्ट अनुसार नेपालगन्ज–११ का एक पुरुषमा कोरोना पुष्टि भएको हो । शुक्रबार पनि सोही वडाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । छिमेकमै कोरोना संक्रमित फेला परेपछि सर्वसाधारणमा त्रास फैलिएको नेपालगन्जका जुत्ता, चप्पल व्यापारी बिष्णु मैनालीले बताए ।

‘त्रासका बाबजुद व्यापार गरिरहेका छौँ, व्यापार नगरौँ भने खान पाइँदैन, व्यापार गरौँ भने कोरोनाको त्रास छ, व्यापार गर्ने की बन्द गर्ने दोधारमा छौँ,’ उनले भने । समुदायस्तरमै कोरोना संक्रमण फैलिए पनि राज्यले चासो नदेखाएको स्थानीयले बताएका छन् । नेपालगन्जमा मजदुरी गर्दै आएकी बर्दियाकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।

उनी कामका खोजीमा त्रिभुवन चोकमा आएको बेला जिल्ला स्वास्थ्य कार्यालयको टोलीले स्वाब लिएको थियो । उनी पनि काम खोज्दै हरेक दिन त्रिभुवन चोकमा पुग्ने गरेकी थिइन् । बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्म सात पुगेको छ । कोरोना संक्रमितमध्ये दुई जना कोहलपुरका हुन् ।

सजग रहन चिकित्सकको सुझाव

बन्दाबन्दी खुकुलो पारिएपछि समुदायस्तरमा कोरोना संक्रमण देखिएकाले महामारीबाट जोगिन सजग रहनुपर्ने चिकित्सकहरुले बताएका छन् । लकडाउन खोलेसँगै क्वारेन्टाइनमा सीमित रहेको कोरोना समुदायस्तरमा देखिएपछि चिकित्सकले सजग हुन सुझाव दिएका हुन् । पहिलेको भन्दा पछिल्लो समय कोरोनाको जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

सरकारले लकडाउन खोलेपनि कोरोना संक्रमणको जोखिम झनै बढेर गएको भन्दै चिकित्सकहरुले भीडभाडमा नजान, मास्क प्रयोग गर्न, समयसमयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, मुख र नाकमा हात नलैजान तथा तातो पानी तथा झोलिलो कुरा खान सुझाव दिइरहेका छन्, तर स्थानीयहरुलाई त्यसको कुनै प्रवाह छैन ।

भेरी अस्पतालका ग्याष्ट्रोलोजिष्ट फिजिसियनसमेत रहेका कोरोना फोकल पर्सन डा.संकेत रिसालले लकडाउन खोलेपछि कोरोना संक्रमणका जोखिम झनै बढेकाले सजग बन्न सुझाव दिए । ‘लकडाउन खुलेपछि जताततै मानिसको भीडभाड छ, सामाजिक दूरी पनि कायम गरेको देखिदैन,’ डा. रिसालले भने, ‘यो आफ्नो सुरक्षा आफैँ गर्ने बेला हो ।’

कोरोनाबाट जोगिन कार्यालय, बैंक, वित्तीय संस्था वा पसलमा जाँदा कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्ने उनले बताए । ‘पहिले क्वारेन्टाइनमा सिमित भएकोले त्यति जोखिम थिएन, अब समुदायस्तरमा फैलिएकाले पहिलेभन्दा अहिले जोखिम बढेको छ,’ उनले भने । पीसीआर विधिबाट कोरोना जाँच हुन नसकेकोले संक्रमितको संख्या एकिन गर्न नसकिने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १७:०९