सूचनाको शक्ति - The Power Of Information

        

बजार

सुनको भाउ एक वर्षमा साढे ३२ हजारले बढ्यो

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ ।

गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो । यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला रु ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ ।

यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ ।

मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोबार भने ठप्प रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ०८:४६