सूचनाको शक्ति - The Power Of Information

        

मौसम

आजदेखि चार दिनसम्म भारी वर्षा

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज अपरान्हदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले आगामी १६ गतेसम्म वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार ०७:१९