सूचनाको शक्ति - The Power Of Information

        

भेरी–बबई डाइभर्सन सुरुङ निर्माण कार्य तीव्र


बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कामले तीव्रता पाएको छ । नेपालमा पहिलो पटक प्रयोगस्वरूप भित्र्याइएको टनेल वोर मेसिन (टीवीएम) मार्फत आयोजनाले काम सुरु गरेपछि निर्माण कार्यले रफ्तार लिएको हो ।
मेसिनको प्रयोगबाट आयोजनाको सुरुङ खन्ने काम छिटो भएको भेरी–बबई डाइभर्सन आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताए । सन् २०२० मार्चसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजनाको सुरुङ निर्माण २ वर्षसम्म सक्ने गरी भइरहेको छ । ‘टीवीएममार्फत दैनिक औसतमा २५ मिटर ड्रिल भइरहेको छ ।
करिब ३ महिनाको समयावधिमा एक हजार १ सय मिटर सुरुङ निर्माण भइसकेको छु, निर्देशक बस्नेतले भने, ‘आयोजनाको २ वर्षमा भेरी–बबई डाइभर्सनको १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य छ । आयोजनाले सुरुङका साथै भेरीको मुहानतर्फ डाइभर्सन हेडवर्क, सुरुङ वारपार ब्यारेज निर्माणलगायत बबई नदीतर्फ पावरहाउस निर्माणका लागि डिजाइन अपडेट भइरहेको बस्नेतले जानकारी दिए । आयोजनाको सम्पूर्ण काम ५ वर्षभित्र सक्ने गरी काम सुरु भएको छ ।
कुल १० अर्ब ५६ करोड रुपैयाँ लागतमा सञ्चालित सुरुङ निर्माण कार्यलाई यसवर्ष बजेट अभाव भएकाले सिँचाइ मन्त्रालयमार्फत निर्णय गरी अर्थ मन्त्रालयसँग ३ अर्ब ९६ करोड अपुग रुपैयाँ माग गरिएको बस्नेतले जानकारी दिए । हालसम्म सरकारबाट ६७ करोड रुपैयाँ मात्र निकासा भएकाले कामको रफ्तारअनुसार बाँकी रकम अपुग भएको हो। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको सम्झौता चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग भएको छ ।
फूलपातीको अवसरमा उद्घाटन गरिएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भेरी–बबई नदीबीचको सुरुङ खन्ने काम सुरु गरिएको थियो । नेपालमा पहिलो पटक चुरे पहाडमा प्रयोगस्वरूप सुरु गरिएको (टीवीएम) मेसिन पाकिस्तानको नेलम झेलममा प्रयोग भइसकेको छ । नेपालको शिवालिक (चुरे क्षेत्र) मा प्रयोग गरिएको मेसिन सफल भएको निर्देशक बस्नेतको दाबी छ । सामान्य मेसिनरी गडबडीबाहेक टीवीएममा कुनै समस्या नभएकाले सुरुङ खन्ने काम सहज भइरहेको उनले बताए ।
आयोजना सम्पन्न भएपछि बर्दियाको ५१ हजार कृषि क्षेत्र पनि सिँचित हुनेछ । टीवीएमको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजनामा समेत सफलता मिल्ने बताईएको छ । ‘मेसिनको प्रयोगले आयोजनाको काम छिटो हुनेमा हामी विश्वस्त छौं, भेरी–बबई डाइभर्सन आयोजना चाँडो सम्पन्न गर्न सरकार लागिपरेको छु,’ मन्त्री गौतमले भने । नेपालमा टीवीएम मेसिनको सफलतासँगै मेट्रो रेल, हाइड्रोपावर लगायत फास्ट ट्र्याक निर्माण कार्यले समेत सफलता पाउने मन्त्री गौतमको भनाइ छ ।

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार ०९:२६