सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

सरकारी कार्यालयमा ‘छिर्‍यो कोरोना’

बाँके । बाँकेका दुई वटा अतिव्यस्त रहने कार्यालयमा कोरोना भाइरस प्रवेश गरेको छ । सरकारले लकडाउन हटाएसँगै समुदायस्तरमा फैलिन सुरु गरेको कोरोना भाइरस चाप हुने सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा देखिन थालेको छ ।

आइतबार एकै दिन बाँकेका अति व्यस्त हुने आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालय बाँकेमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि समुदायमा तीव्र रुपमा कोरोना भाइरस फैलिएको थप पुष्टि हुँदै गएको छ ।

आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक जना कर अधिकृत र यातायात व्यवस्था कार्यालयको सवारी शाखामा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै समुदायस्तरमा ‘भुसको आगो’ फैलिएझैं कोरोना कोरोना भाइरस फैलिरहेको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयको नियमित कामकाज बन्द गरिएको छ । ती कार्यालयका कर्मचारीसँग बाहिर मानिसको पनि घुलमिल भएको देखिए पनि पहिचानमा निकै जटिलता रहेको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका र घुलमिल भएकाहरुको पहिचान गरी सबैको पीसीआर जाँचको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

ती कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरु पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठीन हुने देखिएको छ । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन् ।

ती कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरु पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठीन हुने देखिएको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार, कर्मचारीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको सोधीखोजी भइरहेको छ । बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् । लकडाउन खुलेपछि बाँके कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ ।

बाँकेमा यतिबेला कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जोखिम बढेको छ । लकडाउन हटिसकेको र वैदेशिक रोजगारीका क्रममा भारत लगायत अन्य मुलुकबाट घर फर्किने नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राख्न छोडेपछि जोखिम बढेको हो ।

स्थानीय तहहरुकै उदासिनताले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिइसकेकोले यसबाट बच्न र बचाउन भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ । नेपाल–भारत सीमा नजिक रहेकाले बाँकेमा समुदायस्तरमा कोरोना फैलिएपछि आमनागरिक त्रसित बनेका छन् ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिनबाट रोक्न बाँके स्थानीय तहहरुले बेवास्ता गरिरहँदा स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले भारत लगायत अन्य देश र जिल्लाबाट बाँके र बर्दिया भित्रिने जो कोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्न आग्रह गरेका छन् ।

भारतबाट वा जिल्ला बाहिरबाट आउने नगारिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाले बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको कोरोना फोकल पर्सन श्रेष्ठ बताउँछन् ।

कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । सरकारले लकडाउन फिर्ता लिएसँगै नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारहरुमा नागरिकको भीडभाड बढेको छ ।

सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ । यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।

सरकारले लकडाउन खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासनले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार १५:०५