सूचनाको शक्ति - The Power Of Information

        

सहकारीका ऋणीले एक वर्षसम्म भाका सार्न सक्ने

काठमाडौं । सहकारीहरुले पनि ऋणीलाई राहत दिने भएका छन् । कोरोनाले पारेको असरलाई मध्यनजर गर्दै सहकारी विभागले ऋणीलाई सहुलियत दिन सकिने व्यवस्था गरेको छ । विभागले निर्देशन जारी गर्दै एक वर्षसम्म भाका सार्न सकिने जनाएको छ । कोरोनाबाट प्रभावित व्यवसायीको असुल हुन नसकेको ऋणको भाका अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्नेछन् ।

यता ६ महिनाभन्दा बढी एक वर्षसम्म नियामकको पूर्व स्वीकृति लिएर पनि भाका सार्न सकिने निर्देशनमा उल्लेख छ । २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई व्यवसायमा परेको असर मूल्याङ्कन गरी संचालक समितिले बढीमा ६ महिनासम्म भाका सार्न सक्नेछ । त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ ।

गत आर्थिक वर्षको असुली हुन बाँकी ब्याज रकमलाई साउन महिनाभर प्राप्त भएमा पनि गत आर्थिक वर्षकै आम्दानी मानी लेखाङ्कन गर्न चाहेमा एक पटकका लागि सहकारीलाई छुट हुने भएको छ । महामारीको समयमा संस्थामा जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सञ्चालक समितिका पदाधिकारी संयोजक र व्यवस्थापन प्रमुख सदस्य रहनेगरी कम्तीमा तीन जनाको जोखिम व्यवस्थापन कार्यदल गठन गर्न सहकारी संस्थालाई विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार १२:०५