सूचनाको शक्ति - The Power Of Information

        

पीसीआर परिक्षणमा भेरी अस्पताल दोस्रो स्थानमा, समुदायमा फैलिँदै कोरोना

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना परिक्षण प्रयोगशाला पोलिमरेज चेन रियाक्सन (पीसीआर) परिक्षणमा दोस्रो भएको छ । पीसीआर परिक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र दोस्रोमा भेरी अस्पताल नेपालगन्ज रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै भेरी अस्पतालमा स्थापना भएको प्रयोगशाला पीसीआर परिक्षणमा दोस्रो स्थानमा देखिएको छ । साउन १० गतेसम्मको तथ्यांकअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८२ हजार ३३० वटा नमूना र भेरी अस्पतालमा हालसम्म १९ हजार नमूनाको पीसीआर परिक्षण भएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ हजार ७६६ वटा नमूना परिक्षण गरी तेस्रो भएको छ भने १८ हजार ३२१ वटा नमूना परिक्षण गरेर सुर्खेत प्रादेशिक अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत चौथो र पाँचौमा १६ हजार २७३ वटा नमूना परिक्षण गरेर सेती प्रादेशिक अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी रहेको छ ।

देशभर सञ्चालनमा रहेका पीसीआर परिक्षण प्रयोगशालामध्ये सबैभन्दा कम पीसीआर परिक्षण हुनेमा नेपाल पुलिस अस्पताल प्रयोगशाला काठमाडौंमा ३९१, लुम्बिनी प्रादेशिक प्रादेशिक अस्पताल बुटवल ८०९ र स्टार अस्पताल प्रयोगशाला सानेपा ललितपुरमा ८९५ वटा पीसीआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार साउन १० गतेसम्म देशभर सञ्चालनमा रहेका २८ वटा प्रयोगशालाबाट तीन लाख ३९ हजार १५७ वटा नमूना परिक्षण भएका छन् । नेपालमै नमूना परिक्षणमा दोस्रो स्थानमा परेपछि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुलाई बधाईसहित धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘पीसीआर टेष्ट गर्नेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं प्रथम र दोस्रोमा भेरी अस्पताल नेपालगन्ज । सम्मानका पात्र हुनुहुन्छ प्रयोगशाला भेरीका प्राविधिक मित्रहरू जसले असाध्यै मेहनत गर्नुभएको छ ।’

त्यस्तै बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पनि प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘भेरी अस्पतालको ल्यावमा १९ हजार पीसीआर परिक्षण पूरा भएको छ । यो काठमाडौं बाहिर सबैभन्दा बढी हो । ल्यावका सबै सदस्यहरुप्रति उच्च सम्मान छ । हामी खुशी र गौरवान्वित छौं ।

समुदायमा फैलिँदै कोरोना

लकडाउन खुलेपछि बाँके र बर्दिया कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ । यतिबेला बाँके र बर्दियामा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जोखिम बढेको छ । लकडाउन हटिसकेको र वैदेशिक रोजगारीका क्रममा भारत लगायत अन्य मुलुकबाट घर फर्किने नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राख्न छोडेपछि जोखिम बढेको हो ।

नेपाल–भारत सीमा नजिक रहेका यी दुई जिल्लामा समुदायस्तरमा कोरोना फैलिएपछि यहाँका आम नागरिक त्रसित बनेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफ्नो फेसबुकमा केही दिनअघि स्टाटस लेख्दै बन्दाबन्दी पछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको र बाँकेसँगै बर्दियाबासी अहिलेसम्मकै उच्च जोखिममा रहेको बताएका छन् ।

प्रजिअकै भनाईलाई मात्रै पनि आधार मान्ने हो भने कोरोना समुदायस्तरमा फैलिइसकेको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन बाँके र बर्दियाका स्थानीय तहहरुले बेवास्ता गरिरहेका छन् । प्रजिअ कुरुम्वाङ कोरोनासंक्रमण समुदायमा फैलिएकाले यसबाट बच्न र बचाउन भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

उनको फेसबुक स्टाटसमा प्रतिक्रिया जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले भारत लगायत अन्य देश र जिल्लाबाट बाँके र बर्दिया भित्रिने जो कोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्ने बताएका छन् । उनका अनुसार पछिल्लो समय बाँके र बर्दियाका क्वारेन्टिनमा मानिस राख्न छोडिएको छ ।

भारतबाट वा जिल्ला बाहिरबाट आउने नगारिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाले बाँके र बर्दियाका साथै देशभरका जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको कोरोना फोकल पर्शन श्रेष्ठ बताउँछन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

सरकारले लकडाउन फिर्ता लिएसँगै बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बर्दियाको गुलरिया, बाँसगढी, भुरीगाउँ र राजापुर लगायतका बजारहरुमा नागरिकको भीडभाड बढेको छ । सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ ।

यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ । सरकारले लकडाउन खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार ०८:१३