सूचनाको शक्ति - The Power Of Information

        

गुपचुपमै सकियो नगरपालिकाको सार्वजनिक सुनुवाई, सेवाग्राही अनुपस्थित

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले गुपचुपमै सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मात्रै सहभागिता भए । विहिबार आयोजित सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरुको उपस्थिति थिए । सेवाग्राहीहरुको सहभागिता हुनुपर्ने भए पनि नगरपालिकाले गुपचुपमै सार्वजनिक सुनुवाई सम्पन्न गर्यो ।

जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गरेको थियो । योजनामा बजेट विनियोजन गर्ने जनप्रतिनिधि र कर्मचारीमात्रै सहभागी रहेकाले सार्वजनिक सुनुवाइको खासै प्रभावकारी नभएको सहभागिहरुले बताएका छन् ।

साथै जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर विष्टले सार्वजनिक सुनुवाई गर्नुअघि नगरपालिकाले सबै हरहिसाब अनुमोदन नगरी एकाएक कार्यक्रम गरेको हुँदा आफुलाई चित नबुझेर बाहिरिएको बताए । अन्य पालिकाभन्दा चुस्तदुरुस्त, नियम संगत, पारदर्शीता र जवाफदेही होला भन्ने नागरिकको अपेक्षालाई नगरपालिकाले बेवास्ता गरेको गुनासो छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिका इन्जिनियर लालबहादुर थापाले भौतिक पूर्वाधारको प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा अधिकृत लालबहादुर खातीले वित्तिय प्रगति प्रस्तुत गरेका थिए । यस बर्ष नगरपालिकाको कार्यसम्पादन कोरोना महामारीले केही प्रभावित भए पनि समग्रमा अन्य कामहरु भने सन्तोषजनक नै रहेका बताइएको छ ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले योजनामा कमिसन माग्ने गरेको, योजना अनुगमन आफुले मात्रै गर्ने गरेको, टुक्रे योजनाहरु आफन्त र कार्यकर्तामुखी भएको भन्दै नगरपालिकामा आर्थिक अनियमितता समेत हुने गरेको गुनासो गरे । नगरभित्रका अन्य सेवा प्रवाहको अवस्था, सामाजिक, आर्थिक सुधारको अवस्था, प्रतिवेदनमा समेटिनुपर्ने भए पनि नगरपालिकाले भने आम्दानी, खर्च र भौतिक प्रगति मात्रै सुनायो ।

नगरपालिकाले नगरस्तरिय राजनैतिक दलका प्रमुख, संघ संस्थाका प्रतिनिधिहरुका साथै जिल्लास्थित अन्य सरोकारवालालाई पनि बोलाएन । सार्वजनिक सुनुवाई झारा टार्ने र पुरानै शैलीमा देखिएको भन्दै पत्रकार महासंघका अध्यक्ष जगदीस रोकायाले भने, ‘स्थानीय सरकार आएपछि यस्ता कार्यक्रमहरु प्रभावकारी हुनुपर्नेमा पुरानै ढंगको कर्मकाण्डी जस्तै देखियो ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले कोरोना भाइरसको कारण धेरै सहभागीहरु हुन नसकेको बताउँदै आगामी दिनमा तेस्रो पक्षलाई सहजीकरणको जिम्मा दिएर प्रभावकारी बनाइने बताए । सहभागीबाट आएका गुनासाहरुलाई सम्बोधन गर्दै नगरप्रमुख विरेन्द्र खड्काले चैनपुर बजारलाई, व्यवस्थित गर्दै फोहोर व्यवस्थापनका लागि डम्पिङ्ग साइडको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार १०:०४