सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा अख्तियारको छापा, १६ लाखसहित पक्राउ परे कम्प्युटर अप्रेटर

बाँके । कोरोना परिक्षण प्रयोगशाला रहेको नेपालगन्जस्थित अस्पतालमा अख्तियारले छापा मारेको छ । सो क्रममा अस्पतालमा कार्यरत कम्प्युटर अप्रेटर अरुणराज खनाललाई १६ लाख १३ हजार ९७५ रुपैयाँसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमूख गणेश गैरेले जनाएका छन् ।

उनका अनुसार विभिन्न पाटीसँग कमिसनवापतको लिँदै गर्दा खनाललाई पक्राउ गरिएको हो । उक्त रकम सामान खरीदको कमिसन रहेको बुझिएको छ । प्रमूख गैरेले स्रोत नखुलेको रकमसहित कम्प्युटर अप्रेटर खनाललाई पक्राउ गरेको जनाएका छन् । उनका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यसअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै अस्पतालविरुद्ध उजुरी दर्ता भएको थियो । उजुरी दर्तापछि अख्तियारले प्रारम्भिक अनुसन्धान गरेको र अनुसन्धानका क्रममा अस्पतालले अख्तियारलाई उपलब्ध गराएका कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि आज बिहीबार छापा मारेको छ ।

गत असार ४ गते अख्तियारले भेरी अस्पतालमाथि प्रारम्भिक छानविन शुरु गरेको थियो । अख्तियार नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले भने, ‘अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजात हेर्दा छानविन टोलीको चित्त बुझ्दो सुझाव नआएका कारण अख्तियारले बिहीबार थप अनुसन्धानका लागि छापा मारेको हो ।’

थप अनुसन्धानका लागि आवश्यक कागजपत्र माग गरिएको छ । ‘उक्त कागजपत्रमाथि विशेष छानविन गरिनेछ,’ सूचना अधिकारी पाण्डेले भने, ‘अनुसन्धानका क्रममा दोषी फेला परे तत्कालै कानूनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर हुन्छ ।’ कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगायत मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।

उनका अनुसार बायो मेडिकल ईक्वीपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबिनै खरिद गरी आर्थिक चलखेल र अनियमितता गरेको भन्दै अस्पतालविरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको थियो । कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित रहेको देखिएको छ ।

अख्तियारमा उजुरी दर्ता भएपछि भेरी अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अख्तियारमा उजुरी परेपछि अस्पताललाई ७ दिनको म्याद दिएर बायो मेडिकल ईकुपमेन्ट लगायतका सामाग्री खरिदका कागजजात, रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिद प्रक्रियाबारे स्पष्ट लिखित जवाफ पठाउन माग गरिएको थियो ।

भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड बढीको मेडिकल उपकरण खरिद गरेको थियो । भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले छानबिन गरिरहेको र अस्पतालले अख्तियारमा परेको उजुरीमाथि छानबिनका लागि सहयोग पनि गरेको बताएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १७:३७