सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा मजदुरको पनि ‘पीसीआर जाँच’

बाँके । नेपालगन्जमा बिहीबार मजदुरको स्वाव संकलन गरिएको छ । कामका लागि नेपालगन्जको त्रिभुवन चोकमा जम्मा हुने मजदुरको स्वाब संकलन गरिएको हो । ‘पहुँचवाला’को मात्रै पीसीआर जाँच भइरहेको गुनासो हुन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले त्रिभुवन चोकमा बसेर मजदुरको स्वाव संकलन गरेको हो ।

त्रिभुवन चोकमा बिहीबार बिहान ठूलो संख्याका मजदुरहरु कामका लागि आउने गर्दछन् । त्यहाँ जम्मा हुने मजदुरलाई कामदार चाहिएको मान्छेले आएर लैजाने गर्दछन् । कसौंधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले त्रिभुवन चोकमा जम्मा हुने मजदुर र आसपासका पसल वा घरमा काम गर्नेहरुको स्वाब संकलन गरेको छ ।

स्वाब संकलनमा सहभागी हुन कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले माइकिङ गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले १३० जनाको स्वाब संकलन गरेको जानकारी दिए । स्वास्थ्य कार्यालयले निशुल्क पीसीआर जाँचको व्यवस्था मिलाएको भए पनि त्रिभुवन चोकमा कामकै लागि आउने धेरैले त्यसमा चासो देखाएनन् ।

उनीहरुको आँखा कामदार खोज्न आउने मानिसको पर्खाईमै थियो । जबकी अधिकारीहरुले ‘अहिले निशुल्क जाँच गरिहाल्नुस्, बाहिर जाँच गर्नुपर्यो भने साढे पाँच हजार लाग्छ,’ भनिरहेका थिए । बाँकेमा हालसम्म १० हजारबढीको पीसीआर जाँच गरिएको छ । नौ हजार बढीको आरडीटी जाँच गरिएको छ । ३९६ जना संक्रमितमध्ये निको हुन बाँकी २४ जना छन् ।

यसैबीच, बाँकेमा बिहीबार दुईजना डिस्चार्ज भएका छन् । नेपालगन्जको आदर्शनगरस्थित आइसोलेसन सेन्टरमा रहेका कोहलपुर र राप्तीसोनारीका एक–एक जना डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकल पर्सन श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिका–६ का ३१ वर्षीय पुरुष र राप्तीसोनारी गाउँपालिका– १ का २७ वर्षीय पुरुष कोरोना जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १५:४५