सूचनाको शक्ति - The Power Of Information

        

आन्तरिक सहमति नभएपछि लम्बियो राप्रपाको दल दर्ता

काठमाडौं । पार्टीको विधान लगायतका विषयमा आन्तरिक सहमति नभएपछि राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता भएर बनेको राप्रपाको दल दर्ता लम्बिएको छ । पार्टीका तीनै अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीसहितका नेताहरू आज दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम थियो । तर, आन्तरिक सहमति बाँकी रहेपछि राप्रपा दल दर्ताको निवेदन लिएर आयोग जान सकेन ।

‘दल दर्ता गर्ने सम्बन्धमा छलफल बाँकी रहेकाले आज आयोग जाने पूर्व निर्धारित कार्यक्रम स्थगत गरिएको छ,’ पार्टीका नेता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । स्रोतका अनुसार राप्रपाले पुरानै विधान लिएर आयोग जान खोजे पनि राप्रपा संयुक्तले भने नयाँ दलको रुपमा दर्ता हुनुपर्ने अडान राखेको छ । राप्रपा पहिले नै दर्ता भइसकेकाले अहिलेसम्म भएका निर्णयहरु आयोगलाई जानकारी गराउने तर नयाँ दल दर्ता नगर्ने पक्षमा रहेकाले कुरा मिल्न सकेको छैन ।

एक नेताले भने, ‘अझै केही दिन लाग्ने भयो ।’ राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २८ गते औपचारिक पार्टी एकता भएको थियो । गत जेठ २९ गते केन्द्रीय कार्य समिति विस्तार गरेको छ । एकतापछिको राप्रपाले १३ सदस्यीय केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, ८२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति र ३२७ सदस्यीय केन्द्रीय कार्य समिति यसअघि नै गठन गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १५:५१