कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँबस्तीको ‘थारु होमस्टे’मा आएका पाहुनालाई स्वागत गरिँदै । तस्बिर : शेरबहादुर सिंह, रासस
शेरबहादुर सिंह । कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’मा बितेको दुई वर्षमा २ हजार ५ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ ।
पछिल्लो समय कञ्चनपुरमा होमस्टेको व्यापार फस्टाउँदै गएको छ । ‘गत साउनयता समुहमा आउने पाहुना अलि कम भए,’ राना थारु सामुदायिक होमस्टे समितिका सचिव चेतराम राना भन्छन्, ’केही दिनयता मुलुकमा विभिन्न क्षेत्रबाट पाहुना आउने क्रम बढेको छ ।’ नयाँ कटानमा ८ वटा घरमा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा आउने अधिकांश पर्यटक राना थारु समुदायको पहिरनबाट आकर्षित हुने गरेका छन् ।
‘विदेशी पाहुना त हाम्रो पहिरन देखेर खुबै खुसी हुन्छन्,’ रानाले भने, ‘शुक्लाफाँटा र छेउमै रहेको एसियाकै लामो झोलुङ्गे पुल हेर्ने पाहुना यहाँ बस्न रुचाउँछन् ।’ कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायत देशका अन्य क्षेत्रमा थारु चौधरी लगायत अन्य जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालन गरेका छन् । सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले भीमदत्तनगरमा पहिलोपटक होमस्टे सञ्चालन गरेका हुन् ।
तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिले शुरुवातमा सहयोग गरेको थियो । होमस्टेमा आउने पाहुनालाई विभिन्न परम्परागत नाच देखाउनुका साथै पहिरनको समेत अवलोकन गराउने गरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माण भएपछि पश्चिमी नाका भएर नेपाल घुम्न आउने पर्यटक होमस्टेको अवलोकन गर्न आउने रानाको विश्वास छ ।
‘महाकालीको पुल सञ्चालनमा आएपछि प्रवेशद्वारमै थारु होमस्टेमा पाहुनालाई स्वागत गर्न सहज हुन्छ,’ उनले भने । अहिले कञ्चनपुरमा नयाँ होमस्टे खोल्ने तयारी समेत भइरहेको रानाले बताए । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा चौधरी थारु समुदायले होमस्टे सञ्चालनको तयारी थालेका छन् ।
चौधरी समुदायको प्रमुख चाड ‘माघी’ पर्वका अवसरमा आगामी माघको पहिलो सातादेखि उक्त होमस्टे सञ्चालनमा ल्याइने खैरकन्द्रा सामुदायिक होमस्टे जोनापुरका कोषाध्यक्ष रामप्रसाद चौधरीले बताए । ‘९ वटा घरमामा होमस्टे स्थापना गरी प्रदेश नं ७ कै नमुना होमस्टेका रुपमा विकास गर्छौं,’ उनले भने, ‘होमस्टेमा आउने पाहुनाको स्वागतको सबै तयारी हुँदैछ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र जेडएसएल लगायतका संस्थाबाट होमस्टे स्थापनाका लागि सहयोग उपलब्ध भएको उनले बताए । विभिन्न दाताले रु १३ लाख नगर होमस्टेका लागि सहयोग गरेका छन् । यसका लागि ३ वटा घर निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ६ वटा निर्माणाधीन अवस्थामा छन् । रासस
।