सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामुक्त हुनेको संख्या १२ हजार ४७७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १५० संक्रमित थपिएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

१२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए । अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १०८, प्रदेश नम्बर २ मा १ हजार ९१३, बागमती प्रदेशमा ४२१ र गण्डकी प्रदेशमा ३८० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश ५ मा ३७०, कर्णालीमा २९३ र सुदूरपश्चिममा १ हजार ९९२ जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा २१ हजार ७०४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९६३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै हालसम्म ७ जिल्ला भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १६:४६