सूचनाको शक्ति - The Power Of Information

        

‘सत्य जान्न पाउनु हरेक नागरिकको अधिकार’


देवी भण्डारी । दाङ । दाङ जिल्लाका मुख्य न्यायधिस हेमन्त रावले सत्य जान्न पाउनु हरेक नागरिकको अधिकार भएको बताएका छन् । हरप्लेस दाङको आयोजनामा संक्रमनकालिन न्याय प्रक्रियाको बारेमा द्वन्द्वपीडित र सरोकारवाला विच संवाद कार्यक्रममा न्यायधिस रावलले पीडितलाई न्याय दिने कुरा राजनीतिक सौदावाजीको विषय नभएकाले यसमा राज्यले अभिभावकत्व निभाउनुपर्ने बताए ।
सरकारले परम्परागत विद्यमान न्यायालयले द्वन्द्वपीडितलाई न्याय दिन नसक्ने भन्दै जन्मिएको नविनतम कानून सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत त्यस्ता पक्षलाई न्याय दिने व्यवस्था रहेको भन्दै न्यायधिस रावलले पीडितलाई छिटो न्याय दिनुपर्ने बताए । न्यायधिस रावलले अहिले राजनीतिक संक्रमणको अन्त्य भएपनि द्वन्द्वका अवशेषहरु अझै बाँकी रहेकोले पीडितले न्यायको प्रक्रियामा मात्र नभई परिणाममा देखिने गरी न्याय चाहेको बताए ।
उनले द्वन्द्वपीडितलाई न्याय दिनु राज्यको दायित्व भएको भन्दै राज्य संयन्त्रले न्याय दिन नसके नेपालमा अन्तर्राष्ट्रिय कानुनी संयन्त्रसमेत आर्कषित हुने र पीडितले न्याय पाएरै छाडने बताए । द्वन्द्वपीडितलाई न्याय दिन नसके राज्य र युद्धरत पक्षले पीडितसँग माफी माग्नुपर्ने बताउँदै अहिले युद्ध सम्झिने समय नभई पीडितको समस्याको समाधन गर्ने बेला भएको स्पष्ट पारे ।


कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले द्वन्द्वपीडितलाई छिटोछरितो न्याय दिनेमा दुइमत नभएकोले तत्परताका साथ लागिपर्ने बताए । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सरकारले दिने राहात वितरणमा लागिपरेको भन्दै यो समस्याको समाधान गर्न निरन्तर क्रियाशिल रहेको र आगामी दिनमा पनि सक्रियताका साथ लाग्ने बताए ।
कार्यक्रममा स्थानीय शान्ति समितिका हेमराज अधिकारीले पहिलेको तुलनामा द्वन्द्वपीडितको न्यायका लागी केही समय ढिला भएपनि हाल कामले गति लिएको बताउँदै पीडितले न्याय पाएर छाडने दावी गरे । कार्यक्रममा द्वन्द्वपीडित निर्मला थापाले पनि सरकारले द्वन्द्वपीडितलाई केहि दिन नसके पनि उचित न्याय दिए पुग्ने बताइन् ।
हरप्लेस दाङका उपाध्यक्ष सुनीता जिएमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव शंकर डागी, नेकपा एमालेका उपसचिव सुरामनी बेल्बासे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, पत्रकार बसुन्धरा गौतम, महिला तथा बालबालिका कार्यलयकी विश्वमणी जोशी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण हरप्लेस दाङका संयोजक विनोद केसीले गरेका थिए ।

प्रकाशित मिति : १३ पुष २०७४, बिहीबार ०९:१३