सूचनाको शक्ति - The Power Of Information

        

बाढीको उच्च जोखिममा प्रदेश १, २, ५ र गण्डकी

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश १, २, ५ र गण्डकी बाढीको उच्च जोखिममा रहेको बताएको छ । यी क्षेत्रमा उच्च सावधानी अपनाउन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आग्रह गरेका छन् ।

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा अलि धेरै पानी पर्ने भएकोले ति क्षेत्रमा बाढीको जोखिम रहेको उनले बताए । त्यस्तै यसअघिको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्र सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र दोलखालगायत जिल्ला पहिरोको उच्च जोखिममा परेको प्राधिकरणको भनाइ छ ।

पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह समेत गरिएको छ । भूकम्प गएका प्रभावित क्षेत्रमा करीब दुई प्रतिशत घरहरू पहिरोको जोखिममा रहेको प्राधकिरणको भनाइ छ । विपदलाई रोक्न नसकिए पनि समयमै सुरक्षित भइ धनजनको क्षति रोक्न सकिने पोखरेल बताउँछन् ।

बाढीबारे मोबाइल एसएमएस

बाढी पूर्वानुमान महाशाखाले एसएसमएस तथा साइरनको माध्यमबाट बाढीको जोखिमबारे सूचना दिँदै आएको छ । नागरिकसम्म सूचना पुर्याउन सरकारले वर्षात स्वचालित केन्द्र स्थापना गरेर यस्तो सूचना दिन थालेको हो ।

यस्ता केन्द्र देशभर १०४ वटा रहेको महाशाखाका वरिष्ठ जलविद् विक्रम श्रेष्ठले बताए । ति केन्द्रहरूबाट हरेक १० मिनेटको अन्तरमा नदी तथा खोलामा पानीको मात्रा कति छ भनेर थाहा हुन्छ । त्यसैका आधारमा जोखिमपूर्ण ठाउँका व्यक्तिलाई सूचना दिने गरिएको हो । यसले क्षति न्यूनीकरणमा मद्दत पुग्ने महाशाखाको विश्वास छ ।

साना नदी तथा खोलाका आसपास बस्ने बासिन्दालाई कम्तीमा दुई घण्टा अगाडि नै एसएसएसमार्फत सूचना दिने गरिएको छ भने ठूला नदी क्षेत्रका बासिन्दालाई ६–७ घण्टा अगाडि नै पूर्व सूचना दिने गरिएको छ । तर, यस्ता पूर्वसूचना सबैको सहज पहुँचमा नपुग्दा नेपालले वर्षेनी ठूलो धनजनको क्षति व्यहोर्दै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ११:४०