सूचनाको शक्ति - The Power Of Information

        

सेनाको टोलीद्वारा बम निस्क्रिय, उपप्रमुखको गाडीमा आगजनी

फाइल तस्वीर

फाइल तस्वीर

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको छ ।

प्रेसर कुकर बाहिरबाट टेपले बाँधिएको, तार बाहिर निकालेको अवस्थामा तीन ठाउँमा बम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । त्यस्तै लम्कीचुहा नगरपालिका कार्यालय नजिकै बाटोमा शङ्कास्पद वस्तु भेटिएको र नेपाली सेनाको टोलीसँग समन्वय भई सेनाको टोली निस्क्रिय गर्न त्यसतर्फ गइरहेको बताइएको छ ।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहद्वारा गएराति आगजनी गरेको छ । नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से१झ २४१ नम्बरको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । गाडीको पछाडि पट्टिको भाग मात्र जलेको छ । साथै सँगै रहेको नगरप्रमुख ममताप्रसाद चौधरी चढ्ने गाडीमा कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १०:२३