सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीलाई छाडा पशुचौपाया धपाउने जिम्मा !

बाँके । शान्ति सुरक्षामा खटिने सुरक्षाकर्मी नेपाल प्रहरीलाई आजभोली नेपालगन्ज शहरका छाडा पशुचौपाया धपाउनै ठिक्क छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ र बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाको निर्देशनमा सुरक्षाकर्मीहरू यसरी पशुचौपाय धपाउँदै आएका छन् ।

नेपालगन्ज बजारमा देखिएका गाईगोरू र खच्चडलाई धपाउँदै सुरक्षाकर्मीले कान्जी हाउस पुर्याउने गरेका छन् । शनिबार विहान रामलिला मैदानमा पशुचौपाया धपाउँदै गरेका एक साधा पोशाकका सुरक्षाकर्मीले भने, ‘कस्तो जागिर खाइएछ देश र जनताको सुरक्षाका लागि खाएको कसम पशुचौपाया धपाउन काम लागेको छ ।’

उनीसँग पशुचौपाया धपाइरहेका अर्का सुरक्षाकर्मीले व्यंग्यात्मक शैलीमा भने ‘के गर्नु सानो पदको परिओ जागिर खाएपछि ठुलाबडाको आदेश मान्नै पर्यो । आज पशुचौपाया धपाँउदैछौं भोली कुकुर–विराला पनि धपाउनुपर्ने हुनसक्छ । जागिर त गज्जबको हो नी !’ बाँकेको नेपालगन्ज बजार क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई शनिबार कान्जी हाउस पुर्याइएको छ ।

छाडारुपमा बजारमा घुम्ने, सडकबीचमा बसेर सडक दुर्घटनाको जोखिम बढाइरहेका ६९ वटा अलपत्र छाडा पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले कान्जी हाउस पुर्याएको हो । टोलीले बजारका चारैतिर छरिएर रहेका छाडा पशुचौपायाहरुलाई जम्मा पारेर धपाउदै कान्जी हाउस पुर्याएका हुन् ।

अघिल्लो हप्ता पनि उक्त टोलीले बजारका विभिन्न क्षेत्रबाट ११४ छाडा पशु चौपायाहरुलाई जम्मा पारेर कान्जी हाउस पुर्याएको थियो । बजारमा दुर्घटनाको जोखिम बढाइरहेका छाडा पशुचौपायाहरुलाई उपमहानगरपालिकासँगको सहकार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा कान्जी हाउस पुर्याउने काम भइरहेको छ ।

यता कान्जी हाउस पुर्याइएका पशुचौपायाको आहारा तथा अवस्थाका बारे कसैले चासो भने दिएको देखिँदैन । यसअघि गत बर्ष पनि कान्जी हाउसमा यसरी नै राखिएका पशुचौपाया आहारा, स्वास्थ्य उपचारको अभावमा मात्रै नभई आवश्यकता अनुसार पानीसमेत खान नपाएर मरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतवार १३:२७