सूचनाको शक्ति - The Power Of Information

        

भान्जाको हत्या गर्ने मामा १४ वर्षपछि पक्राउ

काठमाडौं । १४ वर्षअघि आफ्नै नाबालक भान्जाको हत्या आरोपमा फरार मामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आफ्नै मामालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार मामाले फिरौती माग्दै भान्जाको हत्या गरेका थिए । दरबारमार्ग क्षेत्रमा बालकको शव बोरामा फेला परेको थियो । सोही समयदेखि मामा फरार थिए ।

बालकका आमाबुबा न्युरोडमा व्यापार गर्दै आएका थिए । पक्राउ पर्नेमा ४५ वर्षीय राजेशकुमार गुप्ता रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार बौद्धस्थित राई स्कुलमा २ कक्षामा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई उनले अपहरण गरेका थिए । अपरहणपछि भान्जाका बुबा अर्थात् भिनाजुसँग दुई लाख रुपैयाँभन्दा बढी फिरौती रकम माग गरेका थिए ।

उनले फिरौती रकम लिएपछि पनि भान्जाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । हत्या आरोपमा फरार रहेका मामा लामो समयदेखि भारतमा लुकेर बस्दै आएको खुलेको थियो । उनी नेपाल आएको समयमा पक्राउ परेको बताइएको छ । महाशाखाले पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिने बताएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतवार १२:५६