समय परिवर्तनशील छ, त्यो परिवर्तित समयसँगै मान्छेले आफ्ना कार्यहरु पनि अगाडि बढाउनु जरुरी हुन्छ । विश्वका परिवर्तित राष्ट्रहरुले बदलिदो समयसँगै देश विकास र जनतालाई दिइने सुख सुविधाहरुदेखि लिएर देशलाई समुन्नत राष्ट्रको नामले चिनाउन सफल भएका छन् । अरू देशका वैज्ञानिकहरुले दिनप्रतिदिन नयाँनयाँ कुराको खोज अनुसन्धान गर्न दौडधुप गरिरहेका छन् । हुन पनि हो यो २१ औ शताब्दीमा पुगेर पनि अझै पछि पर्नु भनेको ठुलो कमजोरी हो । विश्वका ठुला र शक्तिशाली राष्ट्रहरुले समय परिवर्तनसँगै विभिन्न उपलब्धिहरु हासिल गरे पनि नेपालजस्ता गरिब पिछडिएका र साना मुलुकहरुले भने पट्टक्कै विकास निर्माणका कुराहरुमा हात लगाउन सकिरहेका छैनन् ।
गरिबबाट झन् गरिब हुदै जानु उच्च शिक्षा हासिल गरेर पनि स्वदेशमा पर्याप्त मात्रामा रोजगारका अवसर नहुँदा युवा शक्ति विदेश पलायन हुनु, भएका पुराना उद्योगधन्दा कलकारखाना सञ्चालनको साटो बन्द र जीर्ण अवस्थामा पुग्नु, देशमा प्रशस्त मात्रामा वनजंगल नदि खोला नाला लगायत जलश्रोतको हिसाबले विश्वकै दोस्रो नम्बर गनिने भए पनि तिनीहरुको सहि सदुपयोग हुनु नसक्नुजस्ता थुप्रै खालका समस्याहरु उत्पन्न हुनुमा विशेषगरि नेपाली राजनीति गर्ने नेपालका नेताहरुमा यसको श्रेय जान्छ ।
नेपाल एक गरिब मुलुक हो, यो कुरा विश्वलाई थाहा छ । तर नेपालका जनता गरिब छन्, नेता गरिब छैनन्, बिदेशको खाडीमा ५० डिग्री तापक्रममा पसिना चुहाएर आफ्नो जिविका चलाउने युवायुवतीहरु गरिब छन्, तर नेपाल सरकारको मातहतमा भ्रष्टाचार गर्दै लाखौं कमाउनेहरु गरिब छैनन् । पहाड तराई कयौं दिन बाटोमा बास बसेर घर पुग्ने जनताहरु गरिब छन्, मोटर गाडीमा चढेर गाउँशहर धाउनेहरु गरिब छैनन् । दिन प्रतिदिन भ्रष्टाचारका मुद्दाहरु र खबरहरु बाहिर आएका छन् तर देशमा बलियो र दरिलो कानुन हुन नसक्दा कारबाहीसमेत भएको देखिँदैन अनि कसरी हुन्छ ? देश विकास कसरी उक्सिन्छ ? गरिब, निमुखा, दलित, पीडित, सर्वहारा वर्गको जीवन र कसरी विश्वसामु चिनिन्छ नेपाल ?
एकजना धनी र नेताको छोरा काठमाडौंको ठुलाठुला बोर्डिङ्ग स्कुलदेखि अमेरिका युरोपका कलेजसम्म अध्ययन गर्न जान्छन्, तर गरिब र मजदुरी गर्नेका छोराछोरी सरकारी स्कुलमा समेत पढ्नबाट बञ्चित भएका हुन्छन् । साँच्चिकै यस्ता किसिमका समस्याहरु समाधान गर्ने सरकारले कुनै नीति कार्यक्रम ल्याए देश कोल्टे फेर्नसक्छ । तर, त्यसमा समुचित निकायको ध्यान केन्द्रित भएको देखिदैन । कुनै पनि कामको बारेमा भनेजस्तो गर्न र बुझ्न त्यति सजिलो छैन । स्वास्थ्य, शिक्षा रोजगार लगायतका केहि सुविधाहरु नेपाल सरकारले लागु गरे नयाँ नेपालको सुनौलो भविष्यको उज्यालो लिएर आउन सक्छ । तर आफ्नो स्वार्थ लोभलालच अनि हालीमुहाली लगायत विभिन्न कुराहरुमा नेपालका राजनीति गर्ने नेता र नेपाल सरकार अडेको देखिन्छ ।
नेपालको राजनीतिक ईतिहासलाई हेर्ने हो भने हरेक १० वर्षको अन्तरालमा धेरै क्रान्तिहरु युद्धहरु आन्दोलनहरु भएका छन् । तर बिडम्बना ति क्रान्ति र आन्दोलन युद्धबाट जुन उपलब्धिहरु हात लगाउन सकेको छैन । बिस २०५२ देखि माओवादीले १० वर्ष युद्ध गर्यो जनताले पनि साथ र समर्थन दिए । विस २०६२/०६३ मा राजतन्त्र ढाल्न र लोकतन्त्र र गणतन्त्र ल्याउनको लागि आन्दोलन भए लोकतन्त्र र गणतन्त्र पनि आयो तर नेपाली जनताका हकअधिकार सुनिश्चित गरिएनन् । पुरानो संविधान सभाको खारेजीपछि नयाँ संविधान ल्याउनका लागि भएको पहिलो चुनावमा माओवादी पहिलो पार्टीको रूपमा उदाउन सफल भयो, तर माओवादीको नेतृत्वमा गठन भएको सरकारले नत संविधान लेखन कार्यलाई गति दिन सक्यो, नत आफ्नो कार्यकाल नै सम्हाल्न सक्यो । चार चार बर्ष बितिसक्दा पनि संविधान लेखन कार्य राजनीतिक दलका नेताहरु आ–आफ्ना अडानले गर्दा स्थिरता पाउन सकेन ।
जातीय राज्य सिमाङ्कन लगायत संघीयताको आडमा कुर्लनेहरुले कहिले भुल्न नसकिने अप्रिय घटनाहरु र आन्दोलनहरु गर्न सफल भए । संविधानसभाको दोस्रो चुनावपछि जाहिर संविधान घोषणा भएलगत्तै उता भारतले त्यो संविधान मधेसी जनताको हितमा नभएको भन्दै अघोषित नाका बन्दीको खेल सुरु गर्यो । बिनासकारी भूकम्पबाट घाइते भएको नेपालको घाउ नसुक्दै त्यो भारतले गरेको नाकाबन्दीले झन् चिरिएको घाउमा नुनचुक छर्केझैं भइदियो । लामो भारतीय अघोषित नाकाबन्दीबाट देशको अर्थतन्त्रलगायत नेपाली जनताको जीवन कष्टकर बनिरह्यो । अतः यस्ता किसिमका थुप्रै समस्याहरुको नेपाल सरकार र नेपाली राजनीति दलका नेताले समाधान गर्न नसक्दा राष्ट्र अघि बढ्नुको बदला झन् पछाडी धकेलिँदैछ ।
हजारौंको संख्यामा युवा पलायन रोक्न नसक्दा र स्वदेशमा रोजगारका अवसरहरु ल्याउन नसक्दा देशलाई ठुलो घाटाका साथसाथै देशको अस्तित्वमाथि नै दाग लागिरहेको देखिन्छ । नेपाल सरकार लगायत नेपाली राजनीति गर्ने पार्टीका अगुवा नेताहरुलाई आग्रह छ, तपाईंहरु चुनावको समयमा नेपाली जनतालाई जुन भाषण र आश्वासन देखाउनु हुन्छ ति कुराहरु ब्यवहारमा लागु गर्नुहोस्, बन्द जीर्ण अवस्थामा रहेका कलकारखाना उद्योगधन्दा सञ्चालनमा ल्याउनुहोस् । नेपालको विकासको लागि विदेशबाट आएको रकममा गीद्देदृष्टि नलगाई सहि हिसाबले सदुपयोग गर्नुहोस् । नेपालमा भएका नदीनालाबाट उत्पादन हुने विद्युतका लागि केहि योजनाहरु तय गर्नुहोस् । गरिब, सर्वहारा, निमुखा, पीडित, बेपत्ता, सहिद, दलित, मुक्तकमैया, कमलरी प्रथाको अन्त्य गर्दै विदेशका खाडीमा दास बन्न नेपाली राष्ट्रप्रेमी युवाहरु स्वदेश फर्काएर रोजगारीको ब्यवस्था मिलाउनुहोस् । अनि नयाँ नेपालको सिर्जना हुनेछ र तपाईंले गरेको अतुलनीय कार्यको अविस्मरणीय मुल्यांकन जनताले गर्नेछन्, नेपाली जनताको घरदैलोमा खुशी छाउनेछ । धन्यवाद । (लेखक राष्ट्रिय युवा संघ नेपाल बझाङ्ग जिल्ला कमिटी सदस्य हुन् ।)
उत्तमजङ्ग सिंह ।