सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २३ हजार ७४३ सवारी कारबाहीमा

बाँके । बाँकेमा गत आर्थिक वर्ष २०७६/०७७ मा २३ हजार ७४३ वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार सो अवधिमा ६ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

उक्त कारबाहीमा रु.१ करोड २९ लाख ६९ हजार राजस्व संकलन भएको छ । जसमा ट्रक कारबाहीबाट रु.३७ लाख ७४ हजार ५००, जीपकारबाट रु.२५ लाख ४० हजार ५००, मोटरसाइकलबाट रु.२२ लाख ८५ हजार ५००, बसबाट रु.२० लाख ७४ हजार ५००, ट्रयाक्टरबाट रु.१५ लाख १४ हजार ५००, टेम्पोबाट रु.२ लाख ९९ हजार र अन्य सवारी साधनको कारबाहीबाट रु.२ लाख ८८ हजार ५०० राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार औषतमा दिनभन्दा सबैभन्दा बढी शुक्रबार सवारी दुर्घटना हुने गरेका छन् । यस्तै बाँकेमा गत आवमा १९१ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा २५४ सवारी संलग्न रहेका छन् । अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा ६ बालक, ३ बालिका, १२ महिला र ५२ जना पुरुष रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

यस्तै ५ बालिका, ११ बालक, ३२ महिला र ११० पुरुष गरी १५८ जना गम्भीर घाइते भए भने ३ बालिका, ८ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भए । सवारी दुर्घटनामा ४० वटा पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० वटा मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ वटा जीपकार, २३ वटा बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, ७ माइक्रो, ४ टिपर र १ वटा अन्य सवारी दुर्घटना भएका छन् ।

प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । गम्भीर खालका दुर्घटनाको दर पनि उच्च छ । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० बर्ष उमेर समूहका विना लाइसेन्स तीव्र गतीमा सवारी चलाउने धेरै छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १६:३८