सूचनाको शक्ति - The Power Of Information

        

नहर क्षेत्रका अतिक्रमित संरचना हटाउँदै सिक्टा

सिक्टा सिँचाइ आयोजनाको कोहलपुर–नेपालगन्ज सडक खण्डको पार्वतीपुरदेखि सोल्टी होटलसम्म नहरक्षेत्रको अतिक्रमण हटाइँदै । तस्वीर : बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको फेसबुकबाट ।

सिक्टा सिँचाइ आयोजनाको कोहलपुर–नेपालगन्ज सडक खण्डको पार्वतीपुरदेखि सोल्टी होटलसम्म नहरक्षेत्रको अतिक्रमण हटाइँदै । तस्वीर : बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको फेसबुकबाट ।

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिंचाइ आयोजनाले नहर क्षेत्रको अतिक्रमण हटाउन शुरु गरेको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत कोहलपुर–नेपालगन्ज सडकखण्डको पार्वतीपुरदेखि कारकाँदो सोल्टी होटलसम्मको अतिक्रमण हटाउन शुरु गरिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

उनले नहरको उक्त क्षेत्रमा अतिक्रमण गरी मापदण्डविपरीत कल्भर्ट तथा ससाना पुल बनाएकाले त्यस्ता संरचना हटाउन शुरु गरिएको बताए । पार्वतीपुरमा रहेका उद्योगले नहरमा पानीको बहाव अवरोध हुने गरी गैरकानूनीरुपमा ससाना पुल निर्माण गरेका छन् । सो नहरबाट नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, वसुदेवपुर, पुरैना र पुरैनी तथा जानकी गाउँपालिकामा सिक्टा सिंचाइको पानी पु¥याउने योजना छ ।

अतिक्रमित संरचना हटाई किसानको खेतसम्म सिंचाइ सुविधा पुर्याउने कार्यमा जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग र समन्वय गर्दै आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिए । सिक्टा सिंचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी निर्माणाधीन पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत राप्ती नदीको पानीले सिंचाइ भइरहेको छ ।

पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको आयोजनाका निर्देशक थापाले बताए । उनका अनुसार पश्चिमी मूल नहरअन्तर्गत सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो ।

अहिले पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिंचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना सहजै सिँचाइ दिन सकिने अवस्था रहेको आयोजना निर्देशक थापाले जानकारी दिए । सिक्टा सिंचाइ आयोजना सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिंचाइ आयोजना हो ।

रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । आयोजनाको कूल बजेट रु २५ अर्ब रहेकामा रु १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी रु ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १३:५१