सूचनाको शक्ति - The Power Of Information

        

‘विदेशबाट फर्किंदा न परिवार न सम्पत्ति, न श्रीमती’

काठमाडौं । महिला अधिकारका नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरूले बताएका छन् । विशेषगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरू महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरूले गुनासो गरेका छन् । महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरूले विदेश गएका पुरुषहरू महिलाबाट पीडित हुने गरे पनि उनीहरूले न्याय नपाएको बताए ।

राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथिको छलफलमा सांसद गंगा चौधरीले पीडित पुरुषहरूले न्याय खोज्न कहाँ जाने ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘महिला मात्रै पीडित छैनन् । पुरुषहरू कहाँ जाने न्याय खोज्न ? महिलाले पनि पुरुषमाथि अन्याय गरेको छ । श्रीमान् विदेशमा काम गर्ने यहाँ श्रीमती अर्कैसँग घुम्ने, भएभरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किंदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमती ।’

सांसद हीरा गुरुङले आयोगले सहर केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्ने माग गरिन् । महिला मात्रै हिंसामा पर्ने गरेको नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले आयोगले दुवै पक्षलाई न्याय दिनुपर्ने बताइन् । राष्ट्रिय महिला आयोगककी सचिव शान्ता अधिकारीले पुरुष हिंसा हुने गरे पनि घटनाहरू बाहिर आउन नसकेको बताइन् ।

आयोगको कार्य क्षेत्रभित्र पुरुषका घटनाहरू लिन नपाउने प्रावधान रहेको उनको भनाइ छ । उनले भनिन्, ‘विदेश गएका पुरुषका श्रीमती अर्कैसँग गएको सन्दर्भमा त्यहाँ अर्को पुरुषले कुनै न कुनै रूपमा शोषण गरिरहेको छ ।’ २०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १ हजार ४७४ घटना भएका छन् । आयोगको प्रतिवेदनअनुसार सबैभन्दा बढी महिलाहरू मानसिक हिंसाका ५८९ घटना भएका छन् । शारीरिक हिंसाका ४५८, आर्थिक हिंसाका २२४ र यौनजन्य हिंसाका ४७ वटा घटना भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १५:१९