सूचनाको शक्ति - The Power Of Information

        

अनुदानको चामल लिन बाजुरा र मुगु पुग्नुपर्ने बाध्यता


कालिकोट । विकट हिमाली जिल्ला हुम्लाका अधिकांश वासिन्दाले सरकारले ढुवानी अनुदानमा दिएको खाद्यान्न लिन खाद्य संस्थानको मुगु र बाजुराको कोल्टीमा रहेको डिपोसम्म पुग्नुपर्ने बाध्यता छ । हुम्लामा उत्पादन कम हुने भएका कारणले हुम्लीबासीले मुगु खाद्य संस्थानबाट चामल लैजाने गरेका हुन् ।
नेपाल सरकारले हुम्लामा पनि अनुदानको चामल उपलब्ध गराउँदै आएको भए पनि ठेकेदारहरुले समयमा नै खाद्यान्न ढुवानी नगर्दा हुम्लामा खाद्यान्नको संकट हुने गरेको छ । हुम्लाको तल्लो भेगका वासिन्दा खाद्यान्न लैजान मुगु खाद्य संस्थान र बाजुराको कोल्टीमा आउने गरेको हुम्ला खार्पुनाथ गाउँपालिका रायाँका वीरबहादुर रोकायाले बताए ।
‘खाद्यान्नको सधैं अभाव हुने भएकाले ५र६ पटक खसी, बोका, भेडाबाट मुगुबाट खाद्यान्न ढुवानी गरेका छौं’ उनले भने, ‘हामी हुम्लीहरुको मुख्य आयआर्जनको स्रोत भनेको भेडा खसी, बोका पाल्ने हो । खाद्यान्न उत्पादन कमै हुन्छ । त्यसैले हामी मुगु र बाजुरको कोल्टीबाट चामल लैजान्छौं ।’
हुम्लाको सिमीकोट रहेको खाद्यान्न संस्थानको डिपोमा चामल नपाइने भएका कारण हुम्लाको तल्लो भेकमा मानिसहरुले बाजुराको कोल्टी, मुगुको गमगढीबाट र उपल्लो भेगका वासिन्दाले तिब्बतबाट खाद्यान्न लैजाने गरेको सार्केगाड गाउँपालिका ४ का दलबहादुर फडेराले बताए ।
‘अन्य ठाउँमा ३० केजीको चामलको १२ सयसम्म पर्छ’ उनले भने,‘हुम्लामा ३ हजार ५ सयसम्म पर्ने गरेको छ ।’ बाजुराको कोल्टी र मुगुको गमगढीबाट हुम्लाका श्रीनगर, क्लखे, राया, रोडीकोट, दार्मा, जैर र रायालगाएत गाउँबाट भेडा, खसी, खच्चरबाट चामल लैजाने गरेका छन् ।

प्रकाशित मिति : १२ पुष २०७४, बुधबार १०:३५