काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताए ।
उनले भने, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’ मन्त्री थापाले सरकारले निरन्तर पहल गरेपनि समस्या समाधानमा सार्थकता नदेखिएको बताए । भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उनको भनाइ छ ।
उनले नेपालको डुबान रोक्न भारतले निकास दिन आवश्यक रहेको बताए । यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको बताए । विपत्तिबाट आत्मरक्षा गर्ने नागरिकको पनि पूर्णदायित्व भएकाले यसतर्फ जनचेतना जगाउन पनि आवश्यक भएको उनले बताए ।
पहाडमा बाढी पहिरोबाट क्षति हुनुको मुख्य कारण अव्यवस्थित बसोबास रहेको उनको भनाइ छ । जोखिमयुक्त स्थानमा एकीकृत बस्ती बसाउन आवश्यक रहेको गृहमन्त्री थापाले बताए । गृहमन्त्री थापाले प्रकृतिको नियमलाई रोक्न नसक्ने बताउँदै मानवीय कारणबाट उत्पन्न विपत्तिबाट क्षति पुग्ने बताए ।
उनले भने, ‘भूकम्प आउँछ त्यसलाई रोक्न सकिँदैन तर भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ । सरकारले यस किसिमको नीति बनाउन आवश्यक छ । हाम्रो अज्ञानताका र कमजोरीका कारण पनि प्राकृतिक विपत्तिबाट क्षति हुने गरेको छ । बाढीमा बगेको दाउरा लिन जाँदा बगाउँछ भन्ने अज्ञानताको कारण पनि क्षति हुने गरेको छ ।’
यस्तै अवैज्ञानिक विकास नीतिका कारण पनि प्राकृतिक विपत्ति निम्त्याउने गरेको उनले बताए । मनसुन उच्च अवस्थामा पुग्ने भएकाले पहिरोको डर रहेको र कहाँ क्षति हुनसक्छ भन्ने बारेमा सरकारले अध्ययन गरिरहेको बताए । विपत व्यवस्थापनका लागि स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउने मन्त्री थापाको भनाइ छ ।
सत्यपाटी ।