सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय सञ्चालन गर्दै राप्तीसोनारी

बाँके । कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्तीसोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार अगैयामा बसेको जनप्रतिनिधी, राजनीतिक दल, प्रधानाध्यापक लगायत सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कुनै विषम परिस्थिति नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । ‘कुनै विषम परिस्थिती आएन भने अथवा सरकारले केन्द्रबाट कुनै नीति निर्देशन पठायो भने छुट्टै पाटो हो, नत्र हामीले साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय गरेका छौं,’ उनले भने ।

विद्यालयमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुले बताए । ‘कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा बिद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ,’ उनले भने । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांस वडामा विद्यालयका भवनलाई क्वारेन्टाइन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो ।

विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई स्यानिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । ‘विद्यालय खुल्नुभन्दा पहिले सबै विद्यालयलाई स्यानिटाइज गरिनेछ,’ उनले भने । गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पुर्व तयारी स्वरुप साउन १५ बाट विद्यालय खोल्ने निर्णय गरिएको बताए ।

उनले भने, ‘साउन १५ गतेबाट विद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ, यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ, संघिय सरकारको नीति र परिपत्र पनि आउँला ।’ सुरुमा माथिल्लो कक्षाका थोरै विद्यार्थीलाई मात्र विद्यालयमा बोलाएर पछि क्रमशः संख्या बढाउँदै लैजाने नीति अबलम्वन गरिने उनको भनाई छ । उक्त गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । कोरोना भाइरस प्रभावित बिद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन, घुम्ती शिक्षक परिचालनजस्ता शैक्षिक गतिविधि चलाएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार ०८:०८