सूचनाको शक्ति - The Power Of Information

        

प्रजिअ कुरुम्बाङ्गको अर्को महत्वाकांक्षा, ‘होलान् बाँकेका सडक पशुमुक्त ?’

बाँके । छाडा चौपायाको समस्या नेपालगन्जबासीका लागि नयाँ र नौलो भने पक्कै होइन । यसको उचित व्यवस्थापनका लागि यहाँका जनप्रतिनिधी, स्थानीय निकाय लगायत सम्बद्ध सरोकार निकायले प्रयास नगरेको पनि होइन । तर, वर्षेनि उही समस्याले नेपालगन्जबासी आजित छन् । छाडा चौपायाको उचित व्यवस्थापन गर्दै दीर्घकालिन योजना नबनाएकै कारण यहाँका स्थानीय निकाय बारम्बार असफल हुँदै आएका छन् ।

यहीबेला बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले छाडा चौपायाको दीर्घकालिन व्यवस्थापनका लागि महत्वाकांक्षा देखाएका छन् । हुन त बर्षौदेखि अवैधरुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराएका प्रजिअको त्यसपछिको यो महत्वाकांक्षी र चुनौतिपूर्ण काम हो । सामाजिक सञ्जालमा निकै सक्रिय उनले बाँकेका सडकलाई छाडा पशुमुक्त बनाइने भन्दै सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन् ।

क्रसर तस्करहरुको भागाभाग बनाएर अवैध क्रसर उद्योगहरु बन्द गराउन सफल भएका प्रजिअ कुरुम्बाङ्गको यो योजनालाई नेपालगन्जबासीले गम्भीररुपमा लिँदै सफल हुनेमा आशासमेत व्यक्त गरेका छन् । समय–समयमा छाडा पशुचौपायाका कारण हुने साना ठूला दुर्घटनाले आजित बनेका बाँकेबासीले यो काममा प्रजिअ कुरुम्बाङ्ग सफल भएमा बाँकेका सडकमा हुने सवारी दुर्घटनामा समेत कमी आउने बाँकेबासी बताउँछन् ।

नेपालगन्ज–४ का प्रकाश शाहीले भने, ‘छाडा चौपायाका कारण सडक दुर्घटना बढिरहेका छन् । पहिलो कुरा त पशुधनीलाई सचेत गराउनुपर्छ । पशुधनी सचेत नभएसम्म छाडा चौपायाको समस्या समाधान हुन निकै कठीन छ । अहिले सडकमा देखिएका दुई÷चार वटा चौपायालाई कान्जिहाउसमा पुर्याउँदैमा समस्याको हल हुने होइन । यो समस्या पशुधनीसँगै जोडिन्छ, पहिले पशुधनीबाटै सचेतनाका कामहरु सुरु गर्नुपर्छ ।’

नेपालगन्जमा सडक नै जाम गरेर बस्ने छाडा चौपायालाई मार्ने, सवारी साधनले कुचल्दिने जस्ता घटनाले समय–समयमा अधिकारवादीको ध्यानाकर्षण नभएको पनि होइन । अझ समय–समयमा पशुचौपायालाई काञ्जिहाउसमा लैजाने र त्यहाँ उचित व्यवस्थापन, स्वास्थ्योपचार, आहारा, आराम र मौसम अनुसारको बास ब्यवस्थापन नहुँदा काञ्जिहाउसमै राखिएका पशुचौपाया मर्ने गरेका छन् ।

प्रजिअ कुरुम्वाङ्गको सक्रियतासँगै नेपालगन्ज नगर क्षेत्रमा रहेका छाडा पशु चौपायालाई आज काञ्जिहाउस लगिएको छ । प्रजिअ कुरुम्वाङ्गकै सक्रियतामा जिल्ला प्रहरी कार्यालय बाँके, वडा तथा नगर प्रहरीको टोलीले नगरमा छरिएर रहेका छाडा पशुचौपायालाई एकिकृत गरि नेपालगन्ज–२१, पुरैनामा रहेको काञ्जिहाउस लगेको हो । यसअघि पनि नगरक्षेत्रका करिब ३०० बढी छाडा पशुचौपायलाई व्यवस्थापनका लागि काञ्जि हाउसमा राखिएको थियो ।

तर, स्थानीय निकायको चरम लापरबाही र उदासिनताका कारण काञ्जिहाउसमा रहेका पशुचौपाया मर्न थालेपछि त्यसको उचित व्यवस्थापनका लागि लगिदै गएका नेपालगन्जका पशुचौपाया मरेका थिए । उक्त घटना देशब्यापी बन्दै बिवादास्पदसमेत बनेको थियो । यतिखेर पनि नेपालगन्जमा रहेका छाडा पशुचौपायाको ब्यवस्थापनका लागि स्थानीय प्रशासनको सक्रियता बढ्नु सकारात्मक भए पनि चुनौति पनि उत्तकै छ ।

नगरभरीका छाडा पशुचौपायालाई काञ्जिहाउसमा राखेरमात्रै यो समस्या समाधान नहुने नेपालगन्जबासीहरुको भनाई छ । सडकमा छाडा छोड्ने पशुधनी किसानलाई सचेतनासँगै अटेरी गर्नेलाई कारबाही र काञ्जिहाउसमा राखिएका पशुचौपायाको उचित आहारविहार, बासस्थान र स्वास्थ्योपचारमा ध्यान दिएन भने नेपालगन्जमा छाडा पशुचौपाया समस्या जस्ताको तस्तै हुने निश्चित छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १६:३७