सूचनाको शक्ति - The Power Of Information

        

खोलाले बगाएर पिलरमा अड्किएका युवाको जिवितै उद्धार

घोराही । खोलाको बीच भागमा रहेको पिलरमा अड्किएका दाङका एक जना युवालाई खोलाबाट जिवितै उद्धार गरिएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् ।

शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा सोही ठाउँकै २८ वर्षीय अजय घर्ती खोलाको बीच भागमा रहेको पिल्लरमा अड्किएको र उनलाई प्रहरीको सहयोगमा सोनापुर सिमेन्टको क्रेनबाट जिवित उद्धार गर्न सफल भएको हो । खोला तरेर साइकल लिएर घर फकिँदै गर्दा घर्तीलाई बगाएर पिल्लरमा अड्काएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लगातारको बर्षाले पत्रे खोलामा बाढी आएको छ । बर्षौंदेखि बर्षायाममा खोलामा बाढी आएर आवतजावत गर्न नसक्दा जनताले दुःख पाउँदा पनि स्थानीय, प्रदेश र संघीय सरकार मुकदर्शक बनेका छन् । पटक–पटक पुल बनाउन दबाब दिँदा सरकारी निकायले मौनता साँध्दै आएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १४:२१