सूचनाको शक्ति - The Power Of Information

        

अंगरक्षकमाथि यौन प्रस्ताव राखेपछि उपसभामुखका स्वकीय सचिव बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन् । उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो ।

स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर केही दिन पहिले बाहिर आएको थियो । स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ । बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ ।

स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ । पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो । सुदूरपश्चिम प्रदेश नेकपाका सहइञ्चार्जसमेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशीसहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १०:१०