सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा उद्धार ‘रिहर्सल’

बाँके । बाँकेको राप्ती नदीमा सुरक्षाकर्मीले बाढी पीडितको उद्धार सम्बन्धमा कृत्रिम घटनाका अभ्यास गरेका छन् । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजासँग सटाएर सडकजस्तो बाँध निर्माण गरेपछि वर्षेनी तटीय क्षेत्रका बासिन्दाहरु डुवानमा पर्ने गर्दछन् । केही दिन लगातार पानी परेर बाढी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै जिल्ला विपद व्यवस्थापन समितिले शुक्रबार बाढी कृत्रिम घटना अभ्यास गरेको हो ।

घटना अभ्यासमा नदीमा तीन जना डुबेको खबर गरिन्छ । तत्काल सुरक्षाकर्मी परिचालन हुन्छन् । दुई वटा बोट लिएर गएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरेर ल्याउँछ । केही घाइतेजस्तो देखिएका उनीहरुलाई रेडक्रसले उपचार गर्छ । त्यही बेला फेरि एकजना बेपत्ता भएको खबर आउँछ । गोताखोर टोली परिचालन हुन्छन् । केहीबेरमा गोताखोरले डुबेको व्यक्ति भेटाउँछ ।

कृत्रिम घटना अभ्यास हेर्न नेपाली सेनाका जर्नेल सुरेश बानियाँ, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपाल प्रहरीका एसपी ओम राना, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, राष्ट्रिय अनुसन्धान, नेपालगन्जका प्रमुख कमल भट्टराई, रेडक्रसका गोवद्र्धनसिंह सम्झना लगायत विभिन्न कार्यालयका प्रमुखहरु पुगेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जतिबेला पनि बाढी आउन सक्ने भएकाले उद्धार टोलीलाई अभ्यस्त गराउन कृत्रिम घटना अभ्यास गरेको बताए । बाँकेको फत्तेपुर, कम्दी, होलिया, बेतहनी, गंगापुर, नरैनापुरका गाउँहरु वर्खामा राप्ती नदीको डुवानमा पर्ने गर्दछन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १६:४५