सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको वडा नंं २ मा पौने तीन करोड खर्च

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको बर्षे कार्यकालमा झण्डै पौने तीन करोड बजेट खर्च गरेको छ । तीन आर्थिक बर्षमा दुई करोड ७४ लाख ९३ हजार १२८ रुपैयाँ खर्च गरेको छ ।

जस अनुसार आव २०७४/०७५ मा ६७ लाख २९ हजार १२८ रुपैयाँ, आ.व २०७५/०७६ मा ६८ लाख २८ हजार रुपैयाँ र आ.व २०७६/०७७ मा एक करोड ३९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । सो बजेटबाट बिभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन भएको वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए ।

निर्वाचित जनप्रतिनिधि आएपछिको तीन बर्षे कार्यकालको समिक्षात्मक पत्रकार सम्मेलनमा तीन बर्षको अवधिमा सम्पन्न गरेका कामहरुको जानकारी गराउँदै वडाध्यक्ष हमालले विकासका कामलाई निरन्तरता दिँदै आएको बताए । उनले वडाको विकासका लागि वडापालिकाले सबै पक्षसँगको सल्लाह र सुझाव अनुसार काम गर्दै आएको पनि बताए ।

उनले सो अवधिमा विभिन्न सडक तथा नाला निर्माण, सार्वजनिक विद्यालयको स्तरोन्नती, सार्वजनिक सौचालय निर्माण, खानेपानी धारा जडान, वागेश्वरी मन्दिर प्रवेशद्धार निर्माण, वागेश्वरी पार्कभित्र फ्रि वाईफाइ जडान, एडिबीको योजनामा परेका विभिन्न १४ वटा सडकहरुको निर्माण र सडक बत्ती लगाउने काम सम्पन्न भएको बताए ।

त्यस्तै बौद्ध पार्क सौन्दर्यीकरण, सूचना प्रविधिमैत्री वडा बनाउन ४ स्थानमा वाइफाइ जडान कार्य अन्तिम चरणमा रहेको, वडालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना तयार गर्नुका साथै सेवाप्रवाह प्रभावकारी बनाउन हेल्प डेक्स स्थापना गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको वडाध्यक्ष हमालले दावी गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रसँगको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा वडासचिव सुभाष पौडेल, पत्रकार काशी दर्शन, विजय मल्ल लगायतले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १४:०९