सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस महासमिति सदस्य मल्ल निष्काशित

बाँके । नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको काँग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पाँच वर्षका लागि मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेको थियो । काँग्रेस बाँकेको संगठन विभाग प्रमुख भएका मल्लले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

यस्तै, बाँके पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।

काँग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका–२ मा सभापति कोइरालामाथि आक्रमण हुँदा उनको हात भाँचिएको थियो । उक्त घटनामा महेन्द्रले पार्टी सभापति तथा पार्टीको हित विपरित अभिव्यक्ति दिएको काँग्रेसले आरोप लगाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १७:२५