सूचनाको शक्ति - The Power Of Information

        

‘लोक संगीतबाट जिविकोपार्जन गर्न गाह्रो’

कास्की जिल्लाको चापाकोटमा बाबा नरपति देवकोटा र आमा पवित्रा देवकोटाको कान्छा छोराको रुपमा जन्मिएका कृष्ण देवकोटा लोकप्रिय गायकको रुपमा स्थापित गरिसकेका गायक हुन् । बटौलीका झरौला तिनाउ खोला सँगै तरौलाबाट चर्चा बटुलेका लोक तथा दोहोरी गायक कृष्ण देवकोटालाई आजभोली पनि मेला महोत्सवमा गीत गाउन भ्याईनभ्याई छ । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी :

लोक तथा दोहरी गीतको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
– लोक संगित मेरो लागि भगवानको वरदान हो । यो कसरी शुरु भयो भन्ने कुरा मलाई थाहा छैन । तर पनि म जान्ने भएदेखि नै लोकगीत गाउँथे । दोहोरीमा मेरो निकै चासो थियो । हुन त मेरो बुवा पनि लोकगीत गाउनुहुन्थ्यो । त्यसबेला तर उहाँ व्यवसाहिकरुपमा गाउनुभएन । म भने यो क्षेत्रमा २०५१ सालमा रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्रबाट मैले शुरु गरेको हो । त्यहीबाट नै मैले गीत गाउन शुरु गरे । मैले पहिले पहिले दाजु दिदीहरुसँग दोहोरी गाउन गर्दथे । त्यसरी नै मेरो यात्रा शुरु भएको हो । हुन त मेरो गाँउ ठाँउ नै लोकदोहोरीका लागि उर्भर ठाँउ धेरै कलाकार जन्माउने थलोका रुपमा चिनिन्छ । त्यही कारण र अग्रजहरुको सिको गरेर नै म यो क्षेत्रमा लागेको हुँ ।

लोक संगीत के हो ?
– लोक संगीत हाम्रो संस्कति हो, रीतिरिवाज हो र परम्परा हो । हाम्रो रीतिरिवाज जर्गेना गर्ने एउटा माध्यम हो । लोकगीतले हाम्रा गाँउठाँउ र परम्परालाई जोगाउन सहयोग गर्दछ । लोकगीतले हाम्रो मनलाई शन्त गराउँछ । हाम्रो संस्कारलाई बचाउँदै भावी पुस्तालाई पनि यसको महत्व दर्शाउछु ।

लोकगीतमा विकृति आएको छ भनिन्छ नी ?
– हो यो कुरामा कुनै दुईमत छैन । एक दुइवटा गीत मात्र त्यस्ता हुन् । अलिकति पछिल्लो समयमा निर्माण भएका भिडियोहरुमा अभिनय गर्ने कलाकारहरुले लगाउने फेसनलाई नेपाली समाजले पचाउन नसकेको हो जस्तो लाग्छ । पछिल्लो समयमा पैसा खर्च गरेर कलाकार बन्नेहरुको होडबाजी छ । त्यसले गर्दा यो क्षेत्रमा बिकृति आएको हो । विभिन्न ठाँउमा हुने मेला महोत्सवले पैसावाल कलाकारभन्दा पनि कला र गला भएका कलाकारहरुलाई सम्मान गर्ने हो भने यस्तो विकृतिहरु हट्न सक्दछन् । अर्कोतर्फ रष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि लोक दोहोरीमा आएका विकृतिहरु रोक्नका लागि पहल गरिरहेको र छलफलमा पनि त्यस्ता शब्दहरुलाई प्राथमिकता नदिन आग्रह गरेको छ ।

लोक संगीतबाटै जिविकोपार्जन गर्न सकिन्छ ?
– सकिदैन । आजभाली पहिले पहिले जस्तो छैन । त्यसबेला गीत रेकर्ड गरेर क्यासेट र सिडी बिक्रीबाट राम्रै आम्दानी थियो । तर अहिले त्यो अवस्था छैन । मेला र महोत्सव पनि आफ्ना मान्छे र पहुँचको कुरा हो । त्यसैले यो क्षेत्रलाई आंशिक बनाउँदै अर्को पेशालाई मुख्य बनाउनुको विकल्प छैन । दोहोरीमा गीत गाउनेहरुले महिनौसम्म तलब नपाएका कुराहरु बेलाबेलामा बजारमा आउँछन् । कलाकारहरु विदेश गएर नफर्केका कुराहरुलाई पनि हेर्न सकिन्छ ।

अहिलेसम्म कति गीत बजारमा ल्याउनुभो ?
– अहिलेसम्म मेरा दुईदर्जन जति गीतहरु बजारमा आएका छन् । मैले अहिलेसम्म करिव दुईसय गीतमा स्वर दिएको छु भने कतिपय गीतमा शब्दसमेत लेखेको छु । मलाई कृष्ण देवकोटा भनेर बटौलीमा झरौला तिनाउ खोला सँगै तरौलाले चर्चामा ल्याएको हो । मेरो चर्चामा रहेका गीतहरु रामदि झरेर, के के हुने हो, संसार विचित्र, नौतुनाको रेल, ढाका टोपी ढल्क्यो नभन, रेशम रुमाल लगायतका गीतहरुले मलाई दर्शक र स्रोता सामु चिनाएका हुन् ।

अन्त्यमा ?
– अन्तमा सबै दर्शक स्रोतालाई लोकगीतलाई माया र सम्मान गर्न आग्रह गर्दछु । त्यसैगरी यो क्षेत्रमा आएका विकृति रोक्नु तपाई हामी सबैको दायित्व भएकाले सबैले राम्रो र नराम्रो छुट्याएर सर्जकलाई खबरदारी गर्न म आग्रह गर्दछु ।

प्रकाशित मिति : ११ पुष २०७४, मंगलवार १०:४८