सूचनाको शक्ति - The Power Of Information

        

बर्ष दिनमै भासियो पुल, अनुगमन समितिको सुझाव विपरित भुक्तानी

बाँके । कोहलपुर नगरपालिकाको वडा नं.१२ र १३ जोड्ने रोहिणी खोला पक्की पुल भासिएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । रु.१० लाखको लागतमा निर्माण गरिएको पक्की पुल एक वर्ष नपुग्दै भासिएको छ । मापदण्ड विपरित गरिएको निर्माण तथा गलत डिजाइनका कारण पुल भत्किएको स्थानीयहरुको भनाई छ ।

‘हिउँदमा आएको खोलाले नै पुलको एकतर्फको भाग भासिएको थियो, केहि दिनअघि आएको वर्षाका कारण दुवै पिलरतर्फको भाग खोलाले कटान गर्दा पुल खोलामा भासिएको छ,’ वडा नं.१३ का स्थानीय ढालबहादुर मल्लले भने । मल्लले गत वर्ष असारे विकाससँगै निर्माण गरिएको पक्की पुल भासिएपछि स्थानीयहरुलाई आवतजावतमा समस्या भएको बताए ।

उक्त पुल निर्माण गर्दा आर्थिक अनियमितता भएको त्यहाँका स्थानीयहरुको आरोप छ । पुल निर्माण गर्नुभन्दा केहि वर्षअघि लुमन्ती संस्थाको रु.२ लाख ८० हजार सहयोगमा दुबैतर्फ पिलर निर्माण गरिएको थियो । गतवर्ष नगरपालिकाबाट आएको रु.१० लाख रकमले ९ मिटरको ढलान तथा पिलर वरिपरि केहि भाग ग्रावेलमात्रै गरिएको स्थानीय मल्लले बताए ।

पुल निर्माण भइसकेपछि पनि खर्चको विवरण सार्वजनिक नगरि सूचना बोर्ड समेत नराखिनुले ठेकेदार र निर्माण उपभोक्ता समितिको मिलेमत्तोमा आर्थिक अनियमितता भएको स्थानीयहरुको आरोप छ । मल्लले निर्माण सम्पन्न भइसकेपछि पनि सार्वजनिक सुनुवाई नगर्नुले भ्रष्टाचार हुन सक्ने भन्दै सत्य, तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग समेत गरे ।

अर्का स्थानीय लालबहादुर बुढाथोकीले पुल भासिएपछि स्थानीयहरुलाई आवतजावतमा निकै समस्या भएको बताए । ‘कुनै काम परेर बजार जानु पर्दा पुलबाट एकैछिनमा पुगिन्थ्यो,’ उनले भने, ‘अहिले आवतजावतमा समस्या हुँदा निकै समय लाग्छ ।’ उपभोक्ता समितिले पुल निर्माण गरे पनि स्टीमेट अनुसार काम नगर्दा पुल भासिएको उनको भनाई छ ।

वडा नं.१२ की स्थानीय तुल्सी परियारले खोलामा बर्षायाममा आउने बाढीको आँकलन नगरेरे पुल निर्माण गरिएकाले भासिएको बताए । उनले भने, ‘पुल सानो भयो, पानी छिर्ने ठाउँ भएन । खोलाले जमिन कटान गर्दै गएपछि पुल भत्कियो ।’ पुल भत्किएपछि बच्चाबच्चीलाई विद्यालय जान पनि समस्या हुने गरेको उनको भनाई छ ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको पुल गुणस्तरहिन प्रमाणित भए पनि नगरपालिकाले पास गररे भुक्तानी दिएको पाइएको छ । पुलको अनुगमन गर्दा गुणस्तर मापदण्ड अनुसार नपाइएपछि भुक्तानी रोके पनि कार्यपालिका बैठकबाट पारित गरेर भुक्तानी दिइएको नगरपालिकाकी उपप्रमूख एवं अनुगमन समिति संयोजक सञ्जु चौधरीले जानकारी दिइन् ।

अनुगमनका क्रममा पुल निर्माण कार्य मापदण्ड विपरित पाइएपछि आफूले पास नगरेपछि नगर सभामा प्रस्ताव लिएर नगर कार्यपालिकाको बैठकले पारित गरेको उनले बताइन् । ‘अनुगमनमा जाँदा पुल मापदण्ड विपरित निर्माण गरेको पाइएपछि समितिले पास गरेन,’ उनले भने, ‘त्यसपछि विरोध गर्दागर्दा कार्यपालिका बैठकबाट नै पारित भएको हो ।’

पुल भासिएपछि उपभोक्ता समितिका पदाधिकारीहरु एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । समितिका अध्यक्ष रामलाल घर्तीले आफू समितिमा बस्न नचाहे पनि सचिवले बस्न भनेपछि बसेको बताए । उनले भने, ‘मलाई बस्न मन थिएन । सचिवले कहि गर्नुपर्दैन । हस्ताक्षर मात्र गर्ने हो, अरु सबै हामी गर्छौ भनेपछि म समितिमा बसेको हुँ ।’

उनले आफूलाई कहाँ कति खर्च भयो, भन्ने बारेमा केहि थाहा नभएको बताए । समितिकी कोषाध्यक्ष सुशीला वलीले पनि समितिका अन्य पदाधिकारीहरुले बस्ने आग्रह गरेपछि मात्रै बसेको बताइन् । उनले भनिन्, ‘आफूले बस्न नचाहे पनि सबैले बस्न भनेपछि बसेकी हुँ । यसको बारेमा सचिवलाई नै थाहा छ । उहाँसँगै बुझ्दा हुन्छ ।’

समितिकी सचिव केशकुमारी भण्डारी वलीले सबैले आफू जोगिनका लागि एक अर्कालाई आरोप लगाउने गरेको बताइन् । उनले आफू पनि वडाका जनप्रतिनिधि र स्थानीयको दबावमा समितिमा बसेको बताउँदै भनिन्, ‘मैले समितिमा बस्दिनभन्दा मलाई स्थानीयले विकास विरोधी भने । समितिमा नाम पनि उनीहरुले पहिले नै राखिदिएका रहेछन् । कम बजेटमै काम भयो, अहिले पुल भत्किएपछि आरोप लगाउँछन् ।’

कोहलपुर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ओमप्रकाश वलीले गुणस्तरीय नभएको आफूहरुको असन्तुष्टि हुँदाहुँदै नगरपालिकाबाट पास गरिएको बताइन् । ‘पुलको गुणस्तर छ कि छैन, पास हुन्छ कि हुँदैन भनेर नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई लिएर प्रत्यक्ष देखाएको हुँ । यसबारे नगरसभामा पनि कुरा उठ्यो तर हाम्रो असन्तुष्टि हुँदाहुँदै पनि पास गरियो ।’ उक्त पुलका विषयमा अख्तियारमा समेत उजुरी परेको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १९:२८