बझाङ । बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले पहिरो पीडितहरुलाई राहत सहयोग गरेकी छन् । ‘पहिरोमा परी ६ जनाको ज्यान गयो, १ बेपत्ता’ भन्ने समाचार पढेर समाजसेवी गुरुङले समाजिक सञ्जाल शनिबार अपरान्ह फेसवुकमा पीडितहरुलाई सहयोग गर्ने घोषणा गरेकी थिइन् । सोही अनुसार आइतबार गुरुङले न्युज २४ मा कार्यरत पत्रकार रिदम सिंहमार्फत पहिरो प्रभावित २० परिवारका लागि राहतस्वरुप २० बोरा चामल र २० वटा कम्मल सहयोग गरेकी छन् ।
शुक्रबार राती अविरल बर्षसँगै आएको पहिरोले केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा ६ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो भने, २० घर पूर्णरुपमा क्षति भएका थिए । गाउँमै गएर पीडितहरुलाई राहत दिने योजना भए पनि गाँउसम्म पुग्ने बाटो अफ्ठ्यारो भएका कारण जिल्ला प्रशासन कार्यालय बझाङमार्फत पीडितहरुलाई राहत दिइएको पत्रकार सिंहले बताए । राहतको बिषयमा केदारस्यु गाउँपालिका वडा नं ८ का वडाध्यक्ष गणेश बोहरासँग कुरा गर्दा बोहराले गाँउमा आउन समस्या हुने भनेपछि पत्रकार सिंहले उक्त राहत जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक तथा प्रजिअ कमलराज पाण्डेलाई हस्तान्तरण गरेको बताए ।
समाजसेवी गुरुङले नेपालमा बिपदमा परेका जो सुकैलाई पनी सहयोग गर्दै आएकी छन् । समाजमा कसैले पीडा भोगेको देख्न नसक्ने गुरुङ अरुलाई पीडा पर्दा आफैलाई बिपत्ती आइलागेको झैं हुने बताइन् । राहत बुझ्दै प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले राहत सामग्री सहयोग गर्ने समाजसेवी इशा गुरुङलाई धन्यवाद दिए । ‘बिपदको समयमा धेरैले बोल्ने तर काम गर्ने थोरै मान्छे हुन्छन्,’ प्रजिअ पाण्डेले भने, ‘ति थोरै मान्छेमध्ये इशा गुरुङ पनि समाजको दुख हेर्न नसक्ने समाजसेवी हुनुहुन्छ ।’
सत्यराज सिंह ।