सूचनाको शक्ति - The Power Of Information

        

ओली–देउवा गोप्य भेटवार्ता, ‘नेकपा फुटेपछि काँग्रेस सरकारमा जान तयार’

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका छन् । असार १७ गते राति (बुधबार) ओली र देउवाबिच प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा कुराकानी भएको थियो ।

उक्त भेटघाटपछि देउवाले आफ्नो निवासमा विश्वासिला नेताहरुसँगको कुराकानीमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले ओलीले पार्टी विभाजन गर्ने निष्कर्षमा पुगेको आफूले पाएको बताएका हुन् । दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको सार्वजनिक गरिए पनि डेढ घण्टासम्म पार्टी विभाजनपछि कसरी अघि बढ्ने भन्ने भावी राजनीतिक रोडम्यापबारे पनि कुराकानी भएको विश्वस्त स्रोतले जानकारी दियो ।

देउवाले आफ्ना निटक नेताहरुसँग उक्त भेटबारे भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘देउवाजी ओलीले पार्टी फुटाउनु हुन्छ भन्नेमा विश्वत हुनु भएको रहेछ । उहाँहरुबिच पार्टी विभाजनपछि पनि कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ ।’ स्रोतका अनुसार नेकपा विभाजनपछि सरकारमा सहभागी हुन ओलीले देउवालाई आग्रह गरेका छन् । जवाफमा देउवाले ‘त्यसका लागि आफू तयार रहेको’ बताएका छन् ।

ओली देउवाबिचको उक्त सहमति भएको सूचना नेकपा अरु शीर्ष नेताहरुले पाएसँगै उनीहरु थप शसंकित बनेका छन् । ओलीलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट समेत हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लागि परेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । नेताहरुले जारी स्थायी कमिटि बैठक रोकेर सहमतिका लागि कोशिस गरे पनि नेकपाभित्रको विवाद झन् झन् गहिरिँदै गएको छ ।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सोमबारसम्म स्थगित भएको छ । ४५ सदस्यीय स्थायी कमिटिका ३० जना सदस्य ओलीलाई दुवै पदबाट राजीनामा गराउने पक्षमा उभिएका छन् । शनिबार बेलुका प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफ्नो कित्ता क्लिएर गरेर बस्न निर्देशन दिएका छन् । आफू दुवै पदबाट नहट्ने र परिस्थिति जटिल बन्दै गएकाले ‘स्टेप बाइ स्टेप’ ‘बाइ फोर्स’ अघि बढ्नुपर्ने अवस्था आउन सक्ने ब्रिफिङ गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएर ओलीले मन्त्रीहरुलाई कित्ता क्लिएर गर्न भनिरहँदा उनी इतरका नेताहरु दाहाल निवास खुमलटारमा भेला भएर कसरी अघि बढ्ने भन्ने छलफल गरिरहेका थिए । ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत हटाउन चलखेल भइरहेकाले आफूले प्रतिवाद गर्ने जानकारी मन्त्रीहरुलाई गराएका हुन् । ओलीको उक्त निर्देशनपछि नेकपाभित्रको विवाद साँच्चै पार्टी विभाजनको संघारमा पुगेको नेताहरु स्वीकार गर्न थालेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतवार ०९:४५