सूचनाको शक्ति - The Power Of Information

        

इतिहासदेखि अहिलेसम्म ठगिएका लाहुरे

लाहुरेहरू विशेष परिस्थितिमा वाध्यतावश भर्ती भएर विदेशमा बस्नुपरेको हुनाले उनीहरूको नेपाली नागरिकतालाई नेपाल सरकारले निरन्तरता दिनुपर्छ भनेर हामीले पहिले देखि नै भन्दै आएका हौँ । भुपुहरूको हकहितको लागि नेपालमा भुपुसम्बन्धि मन्त्रालय नै गठन हुनुपर्छ भन्ने हाम्रो माग यथावत नै छ । भुपुहरूलाई सशक्तिकरण गर्नको लागि पार्टी र राज्यमा प्रतिनिधित्व गराउनु पर्छ भन्ने मान्यता अनुसार पार्टीमा पदाधिकारी तहमा भुपुलाई अनिवार्य गरेका छौ र विगतमा संविधानसभामा भुपु परिवारको सदस्यलाई सभाषद पनि बनायौँ ।

तर काग्रेस–कम्युनिष्टले भुपुलाई आफ्नो भातृसंगठनमा राख्ने तर आफूसत्तामा गएपछि कुनै भुपुको माग र समस्या समाधान नगरिदिने । बरू महाधिवेशन तथा सम्मेलनहरूमा भुपुलाई व्यवस्थापन समितिमा राखिदिएर झण्डा व्यानर, मञ्च, खाना, पानी, कुर्सी, टेवल तयार पार्ने काममा खटाएको देखिन्छ । भुपुहरूलाई पदाधिकारी तथा प्रतिनिधिको परिचयपत्र देलाभन्दा त स्वयम्सेवकको बिल्ला भिडाइदिन्छन् । तर अबका लाहुरेहरू सचेत छन् । बचेका बाँकी जिन्दगी प्रतिष्ठा र स्वाभिमानको लागि खपत गर्न चाहन्छन् ।

कोइराला–ओली–दाहालहरूले त लाहुरेलाई सोझासिधा ठाने, अझ यादव–ठाकुर–महन्तहरूले पनि लाहुरेलाई उल्लु बनाउँन खोज्दैछन् । संम्बन्धित ठाउँमा चाँहि पहल नगरिदिने तर भुपुको भावना भजाउन सडकमा मात्र बोलि–टोपोल्ने पाल्सी कर्मले लाहुरे भुपुहरूको सही सम्मान र कदर हुन सक्दैन । नागरिकता विधेयक तयार बनाउने निकाय भनेको संसदको ‘राज्य व्यवस्था तथा सुशासन समिति’ हो जहाँ कसले कसरी नागरिकता पाउने भन्ने कुराको छलफल हुन्छ । यहाँ छलफल र बहस भएपछि विधेयक तयार पारेर संसदमा पेश गरिन्छ र पास गरिन्छ ।

यो राज्य व्यवस्था तथा सुशासन समितिमा जनता समाजवादी पार्टीका राजेन्द्र महतो, राजकिशोर यादव र राजेन्द्र श्रेष्ठ पनि छन् । तर कुरा राख्नुपर्ने यो समितिमा उनीहरूले भुपु लाहुरेहरूको नेपाली नागरिकताको निरन्तरता बारे एक शब्द पनि खर्चेका छैनन् । उनीहरूले किमार्थ कुनै पनि कुरा राखेनन् र छलफलको लागि वातावरण पनि बनाएनन् बरू पुरा ध्यान चाहिँ भारतीय बुहारी महिलामा केन्द्रित गरियो । समितिमा कसले के बोल्यो भन्ने कुराको रेकर्ड अहिले पनि हेर्न सकिन्छ । तर सडकमा कार्यकर्ताहरूलाई लाहुरे बारे ब्यानर बोक्न लगाउने । यदि भुपु लाहुरेहरूको कदर यादवले गर्न चाहेको हो भने आफ्नो पार्टीको पदाधिकारी पदमा तथा समानुपतिकबाट भए पनि सांसद बनाउन तयार छन् ?

लाहुरेले विदेशमा संगठन धानिदेओस् र लेवी पठाइदियोस् भन्ने लक्ष्यमात्र लिने हो भने दुखद कुरा हो । यसलाई एयष्तिष्अक या क्ष्चयलथ भनिन्छ । बाहिर जे हुन्छ त्योभित्र हुन्न । बाबुराम भट्टराईको राजनीतिक लाइन नै यही हो । आफूले चाहे अनुसारको संविधान आफैले हतारमा बनाउने र अहिले यो भएन र त्यो भएन भन्नु एक खेल नै हो । बाहिर बोलिदिदैमा भित्री आफ्नो स्वार्थ बर्चस्वमा परिवर्तन आउने होइन, बरू बाहिर वाहवाही आर्जन हुन्छ भन्ने मान्यता यो राजनीतिक लाइनको हुन्छ । कुनै कसाहीले बच्चा पाठोलाई प्रेम गर्नु र त्यसको पालणपोषण गर्नुको अन्तिम निचोड के हो ? घिच्रो निचोड्नु ! (लेखक राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धिजिबी विभाग प्रमुख हुन् ।)

प्रकाशित मिति : २० असार २०७७, शनिबार ०८:५२