सूचनाको शक्ति - The Power Of Information

        

घुस लिएपछि इन्जिनीयरसहित चार जना पक्राउ

दैलेख । तटबन्ध निर्माणको योजनामा घुस लिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनीयर) टोपेन्द्र सुन्दर मल्लसहित चार जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै तटबन्ध निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भनेर लिएको २ लाख ४१ हजार १६ रुपैयाँ घुस रकम समेत बरामद गरिएको जनाएका छन् ।

दैलेखको भगवतीमाई गाउँपालिका–३ सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भनेर मल्ल र सवइन्जिनीयर वीरेन्द्र चन्दले सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

निमित्त कार्यालय प्रमुख (इन्जिनीयर) मल्ललाई कार्यालय परिसर र सवइन्जिनीयर चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिएपश्चात खानतलासी गरिएकोमा टोपेन्द्र सुन्दर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १४:४२