सूचनाको शक्ति - The Power Of Information

        

बाँदर धपाउन ‘कार्बन गन’

अर्घाखाँची । खेतबारीमा लगाएको बालीमा बाँदरले क्षति गरेपछि छत्रदेव गाँउपालिकामा बादर धपाउने यन्त्र ‘गन’को प्रयोग गर्न थालिएको छ । ठूलो आवाजमा गन पड्काएर बाँदर धपाउने उपाय खोजिएको हो । सबै वडाका किसानले बर्सेनि बाँदरले मकै बालीमा नोक्सान पुर्याएका भन्दै बाँदर धपाउने उपाय खोजिदिन गाउँपालिकालाई अनुरोध गरेपछि यस्तो विधि अपनाएएको हो ।

यहाँका धारीचौर, काभ्रे, खुसीनडाँडा, अर्बुन, पाटी, झीरबाँस, रानीपोखरा, बल्कोट गाउँमा बाँदरले सताउँदै आएको छ । जनताको मागलाई सम्बोधन गर्दै वडा नं.१ देखि ८ सम्म प्रत्येक वडामा पाँचवटाका दरले किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । ‘स्याङ्जाको हेलुबाट ल्याएर ४० थान यन्त्र किसानलाई वितरण गरेका छौं,’ उनले भने, ‘यसबाट ठूलो आवाज आउने भएकाले बाँदर धपाउन गाह्रो हुने छैन ।’

यन्त्रभित्र मकैका दाना आकारका चार दाना कार्बन, दुई बिर्को पानी हालेर सात मिनेट मज्जाले हल्लाएर घोल्ने र ग्यास लाइटरको सहायतामा पड्काउनुपर्छ । यन्त्रबाट निस्किएको आवाजले बाँदर तर्सिएर भाग्ने बताइएको छ । धेरै खर्चिलो पनि नहुने र सजिलो उपाय पनि भएकाले यो विधि अपनाइएको अध्यक्ष पोख्रेलले बताए ।

उक्त गन प्रतिगोटा दुई हजार ६५० रुपैयाँमा खरिद गरिएको र कार्वन र ढुवानी गर्दा तीन हजार रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ । अर्घाखाँचीका भूमिकास्थान नगरपालिका, सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, मालारानी र पाणिनी गाँउपालिकाका विभिन्न गाँउ टोलमा पनि किसानलाई बर्सेनी बाँदरले सताउने गरेको छ । बाँदर धपाउन स्थानीय तहलाई अनुरोध गरेपनि चासो नदेखाउँदा बर्सेनि नोक्सानी व्यहोर्नुपरेको किसानको गुनासो छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार ०८:३२