सूचनाको शक्ति - The Power Of Information

        

न्यायिक प्रक्रियाबारे निरिक्षण गर्न डुडुवा पुगे जिल्ला न्यायधिस

बाँके । स्थानीय तह अन्तरगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रियालाई थप गणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गर्न थालेको छ । जिल्ला न्यायधिससहितको टोलीले मंगलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण छलफल गरेको छ । गाउँपालिका अन्तरगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा दर्ता, मिसिलको व्यवस्थापन, निर्णय लगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष शाहिदा बानोले जानकारी गराएकी थिइन् ।

त्यस अवसरमा जिल्ला अदालतका न्यायाधिस रामप्रसाद बस्याल र दिलिपराज पन्तले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुदा दर्ता, मिसिल, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिएका थिए । न्यायधिस बस्यालले न्याय धर्मको पालना गरि कुनै पनि राजनितिक तथा लोभ लालचमा नपरि निस्वार्थको भावनाले समितिमा दर्ता भएका मुद्दालाई फच्र्योट गर्नुपर्नेमा जोड दिए । उनले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिए ।

न्यायिधसद्धयलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको बस्तुस्थिती, कार्ययोजना र विभिन्न कामकारवाहीका बारेमा जानकारी गराएका थिए । न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलखीकरणका बारेमा आवश्यक जानकारी गराइएको थियो । भेटघाटमा कार्यपालिका सदस्य लिलावति यादव, न्यायिक समिति सदस्य रिता परियार, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो । निरीक्षण टोलीमा अदालतका शाखा अधिकृत विरबहादुर बोहरा र नासु विमलकुमार लामिछानेको पनि सहभागिता थियो, भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टरसमेत अध्ययन गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार ०७:५१