सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा उपचार पद्धती तालिम

बाँके । बाँके डुडुवा गाउँपालिकामा स्तरिय स्वास्थ्य उपचार पद्धती सम्वन्धी साथी समुह दुई दिने तालिम आज सोमबार सम्पन्न भएको छ । गाउँपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा एउटै रोगमा एउटै औषधी र मात्रामा एकरुपता गर्ने उद्देश्यले तालिम गरिएको हो । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको तालिममा वडा एकदेखि ६ सम्म रहेका स्वास्थ्य चौकी इन्चार्ज र ओपिडीमा बस्ने स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिममा स्थानीय उपचार पद्धती अनुसार विरामीले स्वास्थ्य चौकीबाट उपचार पाएको छ, छैन ? चाहिने औषधी वितरण गरिएको छ, छैन ? रोग अनुसारको औषधी र त्यसको असर लगायतका बारेमा औषधी व्यवस्था विभागका फर्मासिष्ट डा.अशोक शर्माले सहजीकरण गरेका थिए । तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाले उपलब्ध गराउने स्वास्थ्य उपचार सेवा पद्धतीमा एकरुपतामा जोड दिँदै औषधी र मात्रामा कहीँकतै फरक गर्न नहुने बताए ।

उनले स्वास्थ्य सम्बेदनशिल क्षेत्र भएकाले गम्भीर भएर रोग अनुसारको औषधी र मात्रा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव र स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १५:४१