सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री इस्तियाकले भेरी अस्पताललाई दिए संसद विकास कोषको डेढ करोड रकम

बाँके । बाँके क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगतका तीन वटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गरेका छन् । सांसद राईले कोभिड १९ को महामारीका कारण क्षेत्र नं.२ मा छनोट गरिएका तीन वटा योजनाको ठेक्कासमेत हुन नसकेपछि ती तीन वटै योजनाको डेढ करोड रुपैयाँलाई भेरी अस्पतालमा दिने निर्णय गरेका हुन् ।

स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रीज गर्ने निर्णय सरकारले गरेको हुँदा सो रकम फ्रीज हुनुभन्दा पहिले नै योजना संशोधन गरेर डेढ करोड रुपैयाँलाई कोभिड १९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न प्रदान गरिएको सांसद राईले बताए ।

सांसद राईको संयोजकत्वमा आइतवार बसेको स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितिको बैठकले नेपालगन्ज उपमहानगरपालिका २१ विर्ता गाउँको कर्बला कब्रस्तान र मदरसाको भौतिक पूर्वाधार निर्माण योजना, डुडुवा–६ को बाल सुधार गृहको स्तरोन्नतीका साथै नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स खरिद योजना र डुडुवा–३ कै आस्ताना र मदरसा स्तरोन्नती योजनाको हालसम्म ठेक्का समेत हुननसकेकोले ती योजनालाई संशोधन गरेर तिनको रकमलाई भेरी अस्पताललाई दिने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकामार्फत सञ्चालन हुने गरि भेन्टिलेटर लगायत अन्य उपकरण खरिदका लागि उपरोक्त तीन वटै योजनाको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई प्रदान गर्ने निर्णय भएको सांसद राईले बताए । कोभिड १९ का कारण गरिएको लकडाउनले गर्दा ती तीनवटै योजनाको ठेक्का नै नहुँदा रकम फ्रिज नहोस् भन्ने उद्देश्यले सो रकमलाई कोरोना विरुद्धको अभियानमा प्रदान गरिएको उनले बताए ।

योजना संशोधनका लागि राखिएको सो बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, जिल्ला समन्वय अधिकारी लोकबहादुर सुनार र खरिदार थानेश्वर न्यौपानेको उपस्थिति रहेको थियो । उक्त रकमबाट अत्यावश्यक उपकरण खरिद गरेर कोरोना विरुद्धको अभियानमा निकै ठुलो टेवा मिल्ने नेपालगन्जवासीको भनाई छ । संसदीय विकास कोष अन्तर्गतको स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमको हालसम्म ठेक्का नभएको सबै रकम असार १५ गतेबाट फ्रिज गरिनेछ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार ०८:४०