सूचनाको शक्ति - The Power Of Information

        

‘सलह किरा सिद्रा माछाभन्दा पोषिलो’

काठमाडौं । भारतको बिहार र उत्तर प्रदेश हुँदै सलहको बथान नेपाल छिरेपछि यसलाई नियन्त्रण गर्ने उपायबारे अहिले अनेक बहस भइरहेका छन् । कृषि मन्त्रालयले नेपालमा सलह आउँदै नआउने दाबी गरिरहेका बेला शनिबार बारा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा सलहको ठूलो समूह देखियो ।

उक्त समूहले अन्यत्र भन्दा रुपन्देहीमा केही बढी क्षति गरेको बताइएको छ । सलहको समूह दक्षिणबाट उत्तरतर्फ चलिरहेको हावाको बेगसँगै शनिबार राति नै पहाडी जिल्लामा पुगेको छ । भारतमा रहेको सलहको बथानमा थोरै मात्रामा नेपाल छिरेकाले क्षति कम गर्ने दाबी कृषि मन्त्रालयले गरेको छ ।

प्रदेश ५ सरकारले त शनिबारै सलह समातेर ल्याएमा प्रतिकेजी २० रुपैयाँ दिने घोषणा नै गरेको छ । सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् मदन राईले विषादी हालेर नमार्न आग्रह गरेका छन् । उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन् । खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन् । राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन् ।

‘सिद्रा माछाभन्दा पोसिलो छ सलह,’ उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ । कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु ।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन् । ‘सरकार ! सलह रोक्न विष नछर्क । केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरिदेऊ, सबै सकिन्छ,’ उनले भनेका छन्, ’मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ ।’

कसरी समात्ने ?

यो बाक्लो आयो भने अलिक ठूलो कपडा दुईजनाले दुई छेउमा तानेर सलह छैकौं । एकै ठाउँमा एकैपटक पाँच दश किलो समाउन सकिन्छ । पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने । सलह सबैजसो पंछीको खाना हो । जंगली पंछी पनि मोटाउने भो । मूख्य कुरा हाम्रो धान कोदो, मकै, आलु, तरकारी फलफूल बाली जोगाउनु हो । घाँस पनि जोगाऊँ । तर पहिले अन्न ।

कसैले समाएर ‘सुभद्रा–मदन फाउण्डेशन’मा ल्याइदिए किलोको नगद १०० रुपैयाँले १००० किलोसम्म ल्याए नगद १ लाख भुक्तानी हुनेछ । हामी एक हजार किलोमध्ये भुटेर माछा मासुको सट्टामा विभिन्न परिकार बनाएर विद्यार्थीलाई खुवाउँछौँ । केही हामीसँग भएको पशुपंछीको दाना बनाउँछौं । सिद्राको सट्टामा यो प्रयोग गर्नेछौं । केही हामीसँग भएको सबैखाले पंक्षीलाई ख्वाउनेछौं । तर यसलाई मार्ने बहानामा विष किनेर घुस नखाऊँ, अनि वातावरण विषालु नबनाऊँ ।

https://www.facebook.com/madan.rai.39750/posts/3220133688044043

प्रकाशित मिति : १४ असार २०७७, आइतवार १३:३१