बाँके । वसन्त मल्लको हत्यामा संलग्न फरार अभियुक्त दश बर्षपछि पक्राउ परेका छन् । हत्या भएको एक दशकपछि घटनामा संलग्न ‘मोस्ट वान्टेड’ अभियुक्तलाई डुडुवा गाउँपालिका–३ का ३१ वर्षका ‘धर्मसिंह’ भनिने राजेश यादवलाई मंगलबार विहान ३ बजे उनकै घरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा आज पत्रकार सम्मेलनको आयोजना गरी यादवलाई सार्वजनीक गरिएको हो ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले वसन्त मल्लसहित पाँच जनाको हत्यामा अभियुक्त यादव संलग्न रहेको बताए । उनले भने, ‘आधा दर्जन बढि अपराधमा संलग्न रही एक दशकदेखि फरार रहेका राजेशलाई पक्राउ गर्नु ठूलो सफलता हो ।’ नेपाल–भारतमा लुकीछिपी बसिरहेका अभियुक्त यादवको साथबाट तरवार र चक्कु एक–एक थानसमेत बरामद गरिएको छ ।’
प्रहरी उपरीक्षक रानाले भारतबाट नेपाल आएको भन्ने सूचना पाएपछि प्रहरीले अभियुक्त ‘धर्मसिंह’को विशेष निगरानी गर्दै आएको थियो । बिगतमा सशस्त्र भूमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह)मा आबद्ध रही बाँकेमा हत्या, अपहरण, करणी, ज्यान मार्ने उद्योग, बम विस्फोट तथा फिरौती रकम माग गर्नेजस्ता आधा दर्जन बढी अपराधमा संलग्न यादव संलग्न रहेको प्रहरी उपरीक्षक रानाले बताए ।
उनले पक्राउ परेका ‘धर्मसिंह’लाई ज्यान सम्बन्धी कसुर, अपहरण तथा शारीरिक बन्धक, हात हतियार खरखजाना, विस्फोटक पदार्थ ऐन अनुसार सजाय हुने बताए । प्रहरी उपरीक्षक रानाले नेपालगन्ज–२१ पुरैना निवासी वसन्त मल्लसहित पाँच जनाको हत्याका मुख्य दोषी रहेका यादव पक्राउपछि अन्य अभियुक्तहरुको पहिचान खुल्दै जाने बताउँदै उनीहरुलाई पनि कानूनी कठघरामा ल्याउने बताए ।
यसअघि बाँके प्रहरीले वसन्त मल्ल हत्यामा संलग्न अभियुक्तहरुलाई पक्राउ गर्न चासो नदेखाएको पीडित परिवारको गुनासो थियो । प्रहरीको उदासिनताकै कारण पीडितहरुले न्याय पाउन नसकेका गुनासो गरेका थिए । दश वर्षअघि भूमिगत सशस्त्र समूहबाट हत्या गरिएका २२ वर्षीय वसन्त मल्लका परिवारले अभियुक्त यादव पक्राउ परेसँगै यतिबेला न्याय पाउने आशा जागेको बताएका छन् ।
२०६६ भदौ २१ गते सम्साझै घरबाट अपहरणमा परेका मल्लको भोलीपल्ट बिहान साविक उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो । वसन्तलाई गोली हानेर हत्या गरिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसमा आइए दोस्रो वर्षमा अध्ययनरत वसन्तको हत्याको जिम्मा तराई मधेश मुक्ति टाइगर ज्वाला समूहले हत्या गरेको जिम्मा लिएको थियो । वसन्त विभिन्न स्थानीय युवा क्लबमा समेत आवद्ध थिए ।
हत्या भएको दश वर्ष वितिसक्दा पनि मल्ल परिवारले अहिलेसम्म हत्याको कारण थाहा पाउन सकेको छैन । दाईको हत्या कुन कारणले भयो, अझैं थाहा पाएका छैनौ, मृतकका भाई विजय मल्लले भने, ‘यसअघि किटानी जाहेरी दिएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि ती व्यक्ति छुटिसके, तर हामीले न्याय पाएनौं । यादव पक्राउपछि न्याय पाउने आशा बढेको छ । यादवसहित दाईको हत्यामा संलग्न अन्य अभियुक्तलाई कानूनी कारबाही होस् ।’
हत्यापछि मृकका बुवा रेशमदेव मल्ल र भाई विजयले घटनाका प्रत्यक्षदर्शीका नामबाट प्रहरी समक्ष जाहेरी दिएका थिए । फत्तेपुर स्थायी घर भई तत्कालिन समय पुरैना–२, निवासी २९ वर्षिय दिपु पाण्डे, २४ वर्षीय उपेन्द्र पाण्डे र पुरैनी–९ लोनियनपूर्वा निवासी राकेश लोनिया पक्राउ परे पनि कारबाहीका लागि प्रहरीको असहयोगले अदालती दायरामा नपरेको मल्ल परिवारको गुनासो छ ।
वसन्तको हत्या भएको बेला नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा सुरक्षा निकायको राष्ट्रिय सम्मेलन समेत भइरहेको थियो । देशभरका सबै सुरक्षा निकायका विशिष्ट व्यक्तिहरुको नेपालगन्जमै उपस्थिती हुदाँसम्म पनि चासो नलिनु सरकार र सुरक्षा निकायको गैरजिम्मेवारी हो,’ मृतकका भाई विजयले भने, ‘हामीले सवुत, प्रमाण र किटानी जाहेरी दिँदासम्म पनि त्यो वेला दोषीलाई कारबाही गर्नुको साटो घटना साम्य पार्ने काम प्रहरीले गर्यो ।’
पीडित परिवारले सो बखत दिएको किटानी जाहेरीमा दिपु र उपेन्द्र भूमिगत समूहका कार्यकर्ता भएको आरोपमा पक्राउ परेका थिए । अहिले दाईको हत्यामा संलग्न मुख्य ब्यक्ति पक्राउ परेको बताउँदै भाई विजयले भने, ‘प्रहरीले अन्य अभियुक्तलाई पनि कानूनी दायरामा ल्याओस् ।’ पनि तत्कालिन बाँकेका निमित्त प्रहरी प्रमुख (डिएसपी) राजकुमार बैदवारले गम्भीर अपराधमा चासो नदिँदा दोषी उम्किएको मृतक मल्लका आमा धनसरा मल्लले बताइन् ।
‘घटनापछि हामी शोकमा थियौं, पक्राउ परेकाले जमिन बेचेर पैसा बुझाएको भन्ने सुनियो, उनीहरुलाई प्रहरीले त्यसै छाड्यो, हामीले न्याय पाएनौं’ आमा धनसराले भनिन् । जिल्लामा प्रहरी प्रमुख फेरिँदा मल्ल परिवार हरेक पटक वसन्त हत्या घटनाको प्रभावकारी अनुसन्धान र दोषीलाई कारबाहीका लागि झकझकाउन पुग्छन् । तर, दश बर्षसम्म प्रहरीबाट कुनै सहयोग नमिलेको आमा धनसराले बताइन् ।
उनले भनिन्, ‘त्यतिबेला मिङ्मार लामा बाँकेका प्रहरी प्रमुख थिए, त्यसपछि आएका महेशविक्रम शाह, दिनेश अमात्यसँग पनि धेरै धायौं । तर, हाम्रो आवाज कसैले पनि सुनेन्, चासो दिएनन् । केही वर्ष पहिले बाँके प्रहरी प्रमुख भएर आएका विक्रमसिंह थापाबाट हामीले ठूलो आशा लिएका थियौं, तर उहाँबाट पनि सहयोग पाएनौं । अब त न्याय पाउने आशा नै मरिसकेको थियो । यादव पक्राउपछि न्याय पाउने आश जागेको छ ।’
बाँके प्रहरी प्रमुखमा सरुवा भइ आएका ओमबहादुर रानाले जिल्लाको शान्ति, सुरक्षा र अपराध न्यूनिकरणका लागि आफ्नो आगामी कार्ययोजना सार्वजनिक गरेको एक दिन नबित्दै वसन्तको हत्यामा संलग्न रहेका यादव पक्राउ परेपछि अब न्याय पाइन्छ भन्ने आशा जागको छ,’ आमा धनसराले भनिन्, ‘कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिइयोस् । प्रहरीले आफ्नो शाख जोगाएको छ । छोराको हत्यामा संलग्न सबै अपराधीलाई कानूनी कारबाही होस् ।’
मृतक मल्ल परिवारले छोराको हत्यारालाई कानूनी कारबाही र न्याय माग्दै राष्ट्रपति, प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटक–पटक ज्ञापनपत्र बुझाएका थिए । ‘अपराधीलाई कारबाहीको माग गर्दै न्याय खोज्न थालेको दश वर्ष वित्यो न्याय पाउन सकेनौं,’ वसन्तका बुवा रेशमदेव मल्लले भने, ‘म आफैं नेपाल प्रहरीको अवकास प्राप्त गरेको ब्यक्ति, प्रहरीले मेरो छोराका हत्यारालाई पक्राउ गरि कारबाही गर्नुको साटो उल्टै घटनाका प्रमाण मेटाउन लाग्यो ।’
रेशमले प्रहरीको अनुसन्धान यति फितलो हुनुको पछि विभिन्न स्वार्थ जोडिएकाले दश बर्षसम्म प्रहरी जिम्मेवारीबाट पन्छिरहेको आरोप लगाए । ‘अपराध अनुसन्धानमा ढिलो चाँडो हुन्छ । तर, पीडित परिवारले किटानी जाहेरी दिए पनि घटनाको दोषीउपर कुनै कारबाही नभएको अवस्थामा अहिले आएका प्रहरी प्रमुखले न्याय पाउने आशा जगायो,’ रेशमले भने, ‘अन्य अभियुक्त पनि पक्राउ परेर कानुनी दायरामा आउने विश्वास बढेको छ ।’
घटनालगत्तै राज्यले किरिया खर्चवापत रकम उपलब्ध गराएर सरकार पनि जिम्मेवारीबाट पन्छिएको बुवा रेशमदेवको गुनासो छ । उनले भने, ‘प्रहरीले चाह्यो भने अनुसन्धानका दायरालाई फराकिलो बनाउँदै दोषीसामु पुग्नसक्छ । तर, हाम्रा आवाज कसैले पनि सुनिदिएनन् ।’ घटना भएको केही समयपछि साविक पुरैना गाविस र स्थानीयबासीको पहलमा उनको वस्ती नजिकै वसन्त मल्ल चोक नामाकरण गरिएको छ ।
सत्यपाटी ।