प्यूठान । प्यूठानको ओखरकोट–१ टाडाँपोखरीमा एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर पाँच वर्षयता ओछ्यानमै थला परेपछि उनका तीन नाबालक सन्तानले मजदूरी गरी जीवन धान्न बाध्य भएका छन् । विस २०६५ चैतमा भीरबाट लडेर दुवै खुट्टा भाँचिएपछि आर्थिक अभावका कारण राम्रो उपचार नपाउँदा बाटुला खड्का ओछ्यानमै जीवन बिताउन बाध्य भएकी हुन् ।
घरमुलिको रुपमा रहेकी खड्का ओछ्यानमै जीवन बिताउँन पर्दा उहाँकी तीन छोराछोरी विद्यालय जानबाट वञ्चित भएका छन् । ‘श्रीमान् हुनुहुन्न, जेठो छोरा कहाँ छ थाहा छैन, मेरा दुवै खुट्टा भाँच्चिएर चल्दैनन्,’ खड्काले भनिन्,, ‘अस्पतालले उपचारका लागि रु तीन लाख मागेपछि बिनाउपचार घरमा फर्किए । उपचार त टाढाको कुरा, घरमा नाबालक छोराछोरी मात्रै छन् । बिहान बेलुकी पेटभरी खानसमेत समस्या छ । घरको केही रोपनी पाखोबारीको उब्जनीले एक महिना पनि खान पुग्दैन ।’
रोजगारीका लागि भारत गएका श्रीमान् आफू दुर्घटनामा परेको जानकारी पाएपछि घरमा नआएको र एक वर्षपछि मृत्यु भएको खबर आउँदा परिवारमा शोक थपिएको उनले बताइन् । परिवारको आर्थिक अवस्था कमजोर भएपछि १६ वर्षीय जेठो छोरा बीचमै पढाइ छोडी एक वर्षयता रोजगारीका लागि भारत गएका छन् । त्यस्तै १२ वर्षीया छोरी विमला कक्षा ७ मा अध्ययन गर्दागर्दै गत वर्षदेखि पढाइ छोडेर स्थानीय गाउँमा ज्यालादारीमा काम गर्दै आएकी छन् ।
‘अरु साथीहरू विद्यालय जाँदा आफूलाई पनि विद्यालय जान रहर लागेर आउँछ,’ छोरी विमलाले भनिन्, ‘विद्यालय जाँदा घर चल्दैन । बिहान बेलुकी आमाको स्याहार गर्नु प¥यो, दिउँसो मेलामा हिड्न ठीक्क हुन्छ । कतैबाट सहयोग भएमा आमाको उपचार हुने थियो, यस्तो समस्या देख्नुपर्ने थिएन होला ।’ उनकी १० वर्षीया बहिनी सुशीला विद्यालयमा नाम लेखाए पनि धेरै जसो विद्यालय नगई आफूसँगै काममा हिड्ने बाध्यता रहेको उनले बताइन् ।
।