सूचनाको शक्ति - The Power Of Information

        

पिसिआर रिपोर्ट नआएपछिको आक्रोश, ‘रिपोर्ट नआए घर जान्छौं’

बझाङ । स्वाब संकलन गरेको १६ दिनसम्म पनि पिसिआर रिर्पोट नआउँदा क्वारेन्टिनमा बसेकाहरु आक्रोशित भएका छन् । थलारा गाउँपालिका–२ का विभिन्न क्वारेन्टिनमा बसिरहेकाहरुको दुई हप्ता बितिसक्दा पनि पिसिआर रिर्पोट नआउँदा उनीहरु आक्रोशित बनेका हुन् । भारतको नयाँ दिल्लीबाट जेठ ९ गते बझाङमा पाइला टेकेका उनीहरुले क्वारेन्टिनमा महिना दिनसम्म थुनिँदा असहज भएको बताइरहेका छन् ।

दुई हप्ताअघि आरडिटी परिक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएपछि नमुना स्वाब संकलन गरिएको वडाध्यक्ष हेम खड्काले बताए । उनले भने, ‘नमुना स्वाब संकलन गरेको दुई हप्ता बितिसक्यो रिर्पोट नआउँदा आक्रोश देखाउन थालेका छन् । अबको दुईदिनभित्र रिर्पोट नआए सिधैं घर जान्छौं भनेर मलाई चेतावनी नै आएको छ । सरकारको लापरबाहीले स्थानीय तहका जनप्रतिनिधिलाई असहज भएको छ ।’

थलारा गाउँपालिका–२ का शारदा माबि, खापर आधारभूत विद्यालय र जनप्रिय आधारभूत विद्यालयमा राखिएका ८ जनाको दुई हप्ताअघि स्वाब संकलन गरिएको थियो । रिर्पोट नतिजाको पर्खाइमा बसिरहेका उनीहरुले क्वारेन्टिनमा व्यवस्थापन नभएकाले दिन विताउन असहज भएको शारदा माविको क्वारेन्टिनमा बसिरहेका भजन विकले बताए ।

उनले भने, ‘रिर्पोटको पर्खाइले सिमा नाघिसक्यो । क्वारेन्टिन व्यवस्थित छैन । बर्खाको समय हुँदा विद्यालयको छाना चुहिन थालेको छ । सर्प कोठाभित्रै छिर्न थालेका छन् । एक हप्ताभित्र हामीले चार वटा सर्प कोठाभित्रै मारिसक्यो । कुन दिन सर्पले डसेर मरिन्छ । पानी पर्दा भेल बगेर कोठामै पुग्ने गरेको छ, कसरी बस्नु ? जे परे पर्ला दुई दिनभित्र रिर्पोट नआए घर जान्छौं ।’

थलारा गाउँपालिका–२ मात्रै ४१ जना क्वारेन्टिनमा बसिरहेका छन् । खानामा पनि रसायनयुक्त बजारको चामल र भटमासको दालमात्रै खाँदाखाँदा दिक्दार भएको शारदा क्वारेन्टिनमा बसिरहेका अर्का महाबिर खड्काले बताए । उनले भने, ‘घरमा असारे कामको चटारो छ । रिर्पोट आए त ढुक्क हुन्थ्यौं । संक्रमण छैनजस्तो लाग्छ तर सोच्दासोच्दै मानसिक विरामी भइसक्यौं ।’ वडाध्यक्ष हेम खड्काले भने क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको स्वीकारे ।

उनले लकडाउन अवधिभर गाउँपालिकाले ५ हजार बढीको व्यवस्थापन गर्दा गर्दै रकम सकिएको र अहिले क्वारेन्टिनमा बसेकाहरुलाई खाना र लुगाकपडा घरबाटै मगाउन लगाएको बताए । स्वास्थ्य कार्यालय बझाङका अनुसार थलारा गाउँपालिकामा ३०९ जना क्वारेन्टिनमा बसिरहेका छन् । यस्तै बझाङका अन्य स्थानीय तहका क्वारेन्टिनमा बसिरहेकाहरु पनि समयमै रिर्पोट नआउँदा आक्रोशित बनेका छन् ।

सुदूरपश्चिममा एउटा मात्रै क्वारेन्टिन भएकाले स्वाबको चाङ लाग्ने गरेको छ । हाल बझाङमा पिसिआर परिक्षणका लागि नमुना स्वाब संकलन गरिएको व्यक्तिको संख्या ९६९ जना पुगेको छ भने ३९३ जनाको मात्रै नतिजा प्राप्त भएको छ । अझैं ५७६ नमुनाको नतिजा आउन बाँकी छ । बझाङ जिल्लाभित्रै १७ जना कोराना संक्रमित देखिएका छन् । जिल्लाबाहिर संक्रमितको संख्या चार जना रहेको छ । दुई जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १२:१५