बझाङ । नेपालमा संकट परेका बेला पीडित व्यक्ति तथा समुदायलाई हेल्पिङ्ग ह्यान्ड फर ह्युमानिटी नामक संस्थाले सहयोग गर्न थालेको छ । देशमा भूकम्प गएका बेला पनि सहयोग गरेको संस्थाले अहिले कोरना भाइरस महामारीका बेला पनि यसको रोकथाम र न्यूनीकरणका लागि र समस्यामा परेका व्यक्तिलाई राहत सहयोग उपलब्ध गराउँदै आएको छ ।
डडेलधुरा घर भई हाल अमेरिका बस्दै आएका भक्तबहादुर भण्डारीले नेतृत्व गरिरहेको संस्थाले कोरोनाले देशमा लकडाउन भएपछि भारतबाट नेपाल भित्रिएका नेपालीहरुका लागि खाना खुवाउन तथा क्वारेन्टिनमा रहेकाहरुका लागि स्वास्थ्य सामाग्री पनि सहयोग गरेको छ । संस्थाले बझाड जिल्लामा १२ वटै तहमा रहेका क्वारेन्टिनमा बसेका झण्डै ३ हजारभन्दा बढी व्यक्तिका लागि प्रतिव्यक्ति सावुन र मास्क वितरण गरेको छ ।
सदरमुकाम चैनपुरमा एक औपचारीक कार्यक्रम गरि भक्तबिबी हेल्पिड्ग हेन्डस फर ह्युमानिटिजका सदस्यहरुले संस्थाको बारेमा जानकारी दिँदै मानवीय सेवाका लागि संस्थाले काम गरिरहेको बताए । क्वारेन्टिनमा रहेका जनप्रतिनिधिका साथै स्थानीय अगुवाहरुलाई साबुन मास्क वितरण गरेको हो । संस्थाले भारतबाट आएका नेपालीहरुलाई अछाम, बाजुरा र डोटीका लागि स्याउलेमा र बैतडी, दार्चुला, डडेलधुरा र बझाङका नागरिकहरुका लागि डडेलधुरामा खाना खुवाउने व्यवस्थासमेत गरेको थियो ।
साथै संस्थाले धनगढीको चटकपुरमा समेत नमुना क्वारेन्टिन स्थापना गरेको संस्थाका अंगद भण्डारीले बताए । स्वास्थ्य सामाग्री बाँड्न भण्डारीसँगै विष्णु दौल्याल, ज्योतिप्रकाश जोशी लगायतका विद्यार्थी नेताहरु पनि सहभागि भएका थिए । कोरोना महामारीका बेला संस्थाले यसको संक्रमणबाट बच्न जनचेतनाका साथै स्वास्थ्य सामाग्री वितरण र लकडाउनले बाटोमा खान नपाएका नागरिकलाई खाना खुवाउने व्यवस्था गर्दै आएको छ ।
साथै धेरै दिनसम्म बाटोमा खान नपाएका नागरिकहरुका लागि चाउचाउ र पानी दिएर थप सहयोग गरेको जनाइएको छ । अब पछिल्लो समयमा युवाहरुलाई आयआर्जन र उद्योग उत्पादनतर्फ जोड्नका लागि कार्यक्रम गरिने भएको संस्थाका प्रतिनिधि ज्योतिप्रकाश जोशीले बताए । यसका लागि बझाङ घर भई हाल अमेरिकामा बस्दै आएका केशवराज जोशीको पनि सहयोग रहेको छ । नेपाल बस्ने सत्यराज भण्डारीले संस्थाको कामलाई अझै मानव हितमा केन्द्रीत गरिने बताए ।
सत्यराज सिंह ।