सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो ।

यस्तै लम्कीचुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १७:०७