सूचनाको शक्ति - The Power Of Information

        

अनियमित विद्युत, चुहावट अझै १२ प्रतिशत

बाँके । गर्मीयाम सुरु भएसँगै नेपालगन्जमा विद्युत अनियमित हुँदै गएको छ । बन्दाबन्दीका बेला उद्योग, कलकारखाना, पसल, व्यवसाय बन्द छन् । जसका कारण विद्युतको खपत कम छ । तर, पनि नेपालगन्जमा विद्युतको आपूर्ति अनियमित बनिरहेको छ । अहिले नेपालगन्जमा अत्याधिक गर्मी छ । यहिबेला नेपालगन्जमा पूर्व सूचनाविनै लामो समयसम्म विद्युत अनियमित भइरहेको छ ।

हाल नेपालमा नेपालकै विद्युतले लोड धान्ने अवस्था रहे पनि नेपालगन्जमा नियमित भने छैन नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलला मल्लिकका अनुसार नेपालतर्फको लाइनमा प्राविधिक समस्या हुँदा नेपालगन्जमा विद्युत अनियमित भइरहेको छ । ‘नेपालकै विद्युत पर्याप्त रहेकाले भारतीय विद्युत ल्याउन केन्द्रबाट नै रोकिएको छ,’ मल्लिकले भने, ‘नेपालको सिष्टम दिनहुँजसो कोल्याप्स देखिइरहेको छ ।’

अहिलेको अवस्थामा माग अनुसार आपूर्ति गर्ने क्षमता रहेको छ । केही प्राविधिक समस्याले विद्युत अनियमित हुन गएको मल्लिकको भनाई छ । उनले विद्युत बिस्तार, मर्मत सम्भारका काम गर्न पनि विद्युत अनियमित हुने गरेको बताए । ‘मर्मत तथा यसअघि भएका १३ वटा टेण्डरको कामका लागि पनि लाइन काट्नुपर्ने हुन्छ,’ मल्लिकले भने, ‘सडक तथा नाला निर्माणका बेला लाइन सार्नुपर्छ, त्यतिखेर निश्चित क्षेत्रको लाइन काट्नुपर्ने हुन्छ ।’

नेपालतर्फको प्रसारण लाइनबाट लामो समय प्रसारण अनियमित भएको अवस्थामा भारतबाट नेपालगन्जका लागि विद्युत ल्याउने हो भने अहिलेको समस्या केही हदसम्म हल हुने मल्लिकले बताए । ‘त्यसका लागि केन्द्रको अनुमति आवश्यक पर्छ । चैत्र ११ गतेदेखि भारतबाट नेपालगन्जमा विद्युत ल्याइएको छैन,’ मल्लिक भने, ‘चालु आर्थिक बर्षको साउनदेखि नै भारतीय विद्युतको प्रयोग घट्दै गएको छ ।’

विगतका बर्षमा नेपालगन्जको विद्युत पुरै भारतीय विद्युतको भरोसामा थियो । भारतबाट झण्डै ११ एमभीएसम्म विद्युत आउँथ्यो । नेपालगन्जमा विद्युतको माग बढेसँगै नेपालकै विद्युत प्रयोग थालियो । नेपालमा विद्युत उत्पादन बढेपछि भारतीय विद्युतको प्रयोग घट्दै गयो । ‘प्राविधिक समस्या हल भइरहेको छ । सडक तथा नाली निर्माणका कामहरु पनि सकिन थालेका छन् । त्यसले अब विद्युत अनियमित हुँदैन,’ उनले भने ।

विकास निर्माणका कामले अनियमित भइरहेको विद्युत अव नियमित हुने उनको भनाई छ । केन्द्र प्रमुख मल्लिकले चुहावट नियन्त्रणले पनि ठूलो मात्रामा विद्युत युनिट ‘रिकभर’ भएको बताए । जसका कारण गतवर्षको तुलनामा नेपालगन्जमा यो वर्ष लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । बाँकेको नेपालगन्जमा गतवर्ष झण्डै २० प्रतिशतसम्म विद्युत चुहावट थियो । अहिले झण्डै १२ प्रतिशतसम्म विद्युत चुहावट भएको प्राधिकरणको आँकलन छ ।

चुहावट नियन्त्रण तथा कार्वाही प्रक्रियालाई नियमितरुपमा सञ्चालन गरेका कारण यो सफलता हाँसिल भएको वितरण केन्द्र प्रमुख मल्लिक बताउँछन् । विद्युत क्षमता गतवर्षकै अनुपातमा रहे पनि ग्राहक भने १३ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ । नेपालगन्जमा गर्मीयाममा करिब २५ मेघावाट विद्युत आवश्यक हुने गरेको मल्लिक बताउँछन् । अहिले झण्डै १८ मेघावाट विद्युत नेपालगन्जमा खपत भइरहेको छ ।

नेपालगन्जमा अझै ७ मेघावाट विद्युत अभाव छ । ट्रान्सफर्मरको क्षमता वृद्धि विद्युत वितरणको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विभिन्न स्थानमा रहेका ट्रान्सफर्मरको क्षमतासमेत बढाएको छ । ट्रान्सफर्मरको क्षमता वृद्धिपश्चात विद्युत वितरण प्रक्रियामा कुनै समस्या नभएको प्रमुख मल्लिकको भनाई छ । ‘विगतमा विद्युत लोड बढि हुँदा ट्रान्सफर्मरले नधान्ने समस्या थियो । त्यो पनि समाधान भइसकेको छ,’ उनले भने ।

नेपालगन्ज वितरण केन्द्रले चालु आर्थिक वर्षमा चुहावट नियन्त्रणसँगै वक्यौता बाँकी रहेका ग्राहकको लाइन काट्ने र वक्यौता असुल उपर गर्ने कार्यलाई समेत प्राथमिकता दिएको छ । विद्युत चुहावट नियन्त्रणलाई बढी महत्व दिँदै चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा चलाउन सक्ने व्यवस्था भए नियन्त्रण हुन सक्ने प्राधिकरणको दावी छ । चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा ट्रान्सफर्मर मर्मत, नयाँ जडान, तार, मिटर तथा सबस्टेसन मर्मत र स्तरोन्नतीले प्राविधिक चुहावटसमेत नियन्त्रण हुँदै गएको प्राधिकरणले जनाएको छ । सामुदायिक विद्युत उपभोक्ताले विद्युत वितरण गरिरहेका ठाउँमा चुहावट दर बढिरहेकोले त्यसलाई नियन्त्रण गर्न लागिपरेको नेपालगन्ज वितरण केन्द्रका प्रमूख मल्लिकले बताए । विद्युत चुहावट वितरण लाइनबाट बढी रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत चुहावट चरमरुपमा भइरहेको विद्युत चोरी नियन्त्रण गर्न चुहावट हुने स्थानहरुमा छड्के जाँच, मासिक रिडिङ्ग, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ्ग नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर र वितरण लाइनको सुदृढीकरण लगायतका कार्य गरेपछि विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको मल्लिकको भनाई छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ०८:५६